काठमाडौं- सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानलाई प्रोत्साहन गर्न विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको छ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै २०८५ साल भदौ मसान्तसम्मका लागि दुवै अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क शतप्रतिशत छुट दिने निर्णय भएको जानकारी दिए।
यस्तै सोही अवधिसम्म ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।
सरकारले लामो समयदेखि अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न नसकेका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढाउने उद्देश्यले यो सुविधा दिने निर्णय गरेको जनाएको छ।