बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

ठूलो धनराशि खर्च भइरहेको शिक्षा क्षेत्र उपलब्धिमूलक हुनुपर्छ : राष्ट्रपति भण्डारी

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २० २०७८
images
images
ठूलो धनराशि खर्च भइरहेको शिक्षा क्षेत्र उपलब्धिमूलक हुनुपर्छ : राष्ट्रपति भण्डारी
images
images

सिन्धुपाल्चोक- राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकले ठूलो धनराशि शिक्षा क्षेत्रमा खर्च गरेको भन्दै यसलाई उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिएकी छिन्।

images
images

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मा आज नवनिर्मित थाङपाल भ्याली माध्यमिक विद्यालय भवनको उद्घाटन कार्यक्रममा उनले भूकम्पले क्षति गरेका चार विद्यालय एकीकृत गरी सञ्चालनमा आएको विद्यालयले गुणस्तरीय शिक्षामा ध्यान दिने विश्वास व्यक्त गरिन्। भूकम्प, बाढी, कोरोनाबीच पनि विद्यालय भवन निमार्ण सम्पन्न गरेकामा उनले खुसी व्यक्त गरिन्।

images
images

विद्यालय भवनसँगै अब पढाइ पनि गुणस्तरीय बनाउनपर्नेमा उनले जोड दिइन्। उनले विश्वमा जलवायु परिवर्तनले सङ्कटको रूप लिइरहँदा त्यसको प्रत्यक्ष असर र चुनौती नेपालका हिमशृृङ्खला तथा अग्ला पहाडमा देखा पर्न थालेको बताइन्। जलवायु परिवर्तनका कारण पहाडमा हिउँ नपर्ने, हिमताल फुट्ने, अप्रत्याशित बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिहरु निम्तिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै जलवायु अनुकूलन योजना बनाई त्यसअनुसार अघि बढ्नुपर्नेमा जोड दिइन्।

images
images

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले यस्तो खालको संरचनाले भविष्यमा शिक्षा क्षेत्रको विकास गरी गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने बताए। सरकारी विद्यालयलाई भौतिक तथा शैक्षिक विकास गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो। सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा हुँदैन भन्ने भ्रमलाई चिर्नुपर्नेमा उनले जोड दिए। सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले राजनीति फरक पाटो भएकाले विकासका काममा सबै एक भएर लाग्नुपर्ने बताए।

शिक्षा सचिव यादवप्रसाद कोइरालाले यो अभ्यासको अरूले पनि अनुसरण गरेमा अझै प्रभावकारी हुने धारणा राखे। एसियाली विकास बैंक (एडीबी) को २४ करोड रूपैयाँको सहयोगमा बनेको विद्यालयमा दुई हजार विद्यार्थी पुर्‍याउने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए। शिक्षा क्षेत्रको गुणस्तर वृद्धि गर्नुका साथै विद्यालयलाई प्रविधिमैत्री बनाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय एक कोसेढुङ्गा भएको उनले बताए।

बागमती प्रदेशभित्र बृहत् विद्यालयका रूपमा सञ्चालनमा आउने थाङपाल भ्याली मावि प्रदेशभित्रकै दोस्रो सामुदायिक विद्यालय भएको छ। अहिले विद्यालयको सुविधा सम्पन्न पाँच वटा भवन निमार्ण सम्पन्न भएको छ। गुणस्तरीय र प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै गाउँपालिकाले चार वटा विद्यालयलाई गाभेर १२ कक्षासम्म सञ्चालन गर्ने गरी थाङपाल भ्याली मावि विद्यालय बनाएको हो।

प्राकृतिक रूपमा सुन्दर तर भूगोलको हिसाबले विकट यो विद्यालयमा कम्प्युटर ल्याब, क्यान्टिन, होस्टलको व्यवस्था, बालमैत्री संरचना, स्कुल बसको व्यवस्था रहेको छ। गाउँपालिका र वडाको सहकार्यमा २६ रोपनी जग्गा व्यवस्था गरी ५४ कोठे विद्यालय भवन निर्माण भएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष लामाले बताए। विद्यार्थी, शिक्षक र आवश्यक स्रोतको उचित समायोजनमा सहजताका साथै समयसापेक्ष शिक्षा प्रणालीमा ग्रामीण भेगका विद्यार्थीको पनि पहुँच पुर्‍याउने उद्देश्य रहेको लामाको भनाइ छ। ग्रामीण भेगमा शिक्षाको गुणस्तर वृद्धि हुने देखिएपछि विद्यार्थीसँगै अभिभावक पनि खुसी भएका छन्।

पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै पाठ्यक्रम ‘मेरो पाँचपोखरी’ तयार पारेर पठनपाठन सुरु गरेको छ। कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम गाउँपालिका आफैँले तयार गरी पठनपाठन सुरु गरेको हो। जिल्लाको दुर्गम भेग पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रमसहितको पाठ्यपुस्तक सञ्चालनमा ल्याएको छ। रासस


प्रकाशित : आइतबार, चैत २० २०७८१४:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend