काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक विवरण अनुसार बैंकको व्यावसायिक तथा वित्तीय परिसूचकहरूमा सन्तोषजनक देखिएको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा, प्रतिसेयर आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको हो।
बैंकले गत असार मसान्तसम्ममा बैंकले ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६० करोड ६६ लाख रुपैयाँको तुलनामा ४६.६९ प्रतिशतको वृद्धि हो। सो अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.८३ प्रतिशतले बढेर २ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी १९.९८ प्रतिशतले वृद्धि भई २ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ।
सञ्चालन नाफा ५२.९८ प्रतिशतले बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। बैंकको असुलीमा सुधार आएसँगै इम्पेयरमेन्ट चार्ज अघिल्लो आवको ३४ करोड ५४ लाख रुपैयाँबाट ७३.५५ प्रतिशतले घटेर ९ करोड १३ लाख रुपैयाँमा झरेको छ।
बैंकको वितरणयोग्य नाफा पनि ३३.६७ प्रतिशतले बढेर ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ। बैंकको कायम ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजीका आधारमा सेयरधनीहरूलाई १३.१९ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनेको छ। जुन अघिल्लो आवमा १०.३६ रुपैयाँ रहेको थियो। यसैगरी बैंकको वार्षिक प्रतिसेयर आम्दानी २३.८३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १ सय ६९ रुपैयाँ ५० पैसा कायम भएको छ।
व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप संकलन ४.१२ प्रतिशतले बढेर ५६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। कर्जा प्रवाह ७.१२ प्रतिशतले वृद्धि भई ४५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।
बैंकको जगेडा तथा सरप्लस कोष २५.२८ प्रतिशतले बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। बजारमा ब्याजदर घट्दा बैंकको कस्ट अफ फन्ड्स ३.५४ प्रतिशत र आधार दर ५.५७ प्रतिशतमा झरेको छ।जसले ऋणीहरूलाई राहत पुर्याएको छ।
बैंकको निष्क्रिय कर्जा भने अघिल्लो आवको ५.५२ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ। हाल बैंकको कर्जा-निक्षेप अनुपात ८३.३७ प्रतिशत रहेको छ।