मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

गैँडा मार्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्ज गएको आशंकामा दुई जना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन ५ २०८३
गैँडा मार्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्ज गएको आशंकामा दुई जना पक्राउ

पक्राउ परेका दुवैलाई संरक्षित वन्यजन्तु एकसिंगे गैँडा मार्ने उद्योग र संरक्षित वन्यजन्तुको आखेटोपहार खरिद बिक्री मुद्दामा अनुसन्धान सुरु गरिएको निकुञ्जले जानकारी दिएको छ।

चितवन- चितवन राष्ट्रिय निकुञ्जबाट दुई जना व्यक्ति पक्राउ परेका छन्। विश्वमा दुर्लभ, एकसिंगे गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशंकामा प्रहरीले खड्गनारायण चौधरी र टेकबहादुर मगरलाई पक्राउ गरेको हो।

नवलपरासीको (वर्दघाट-सुस्तापूर्व) मध्यविन्दु नगरपालिका-१ सेतीपानीका ६८ वर्षीय खड्गनारायण चौधरी र चितवनको इच्छाकामना गाउँपालिका-५ फुर्केडाँडाका ५२ वर्षीय टेकबहादुर मगरलाई आज सार्वजनिक गरिएको हो।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरले दुवैलाई नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका-३ ब्रह्मस्थानघाटबाट पक्राउ गरिएको जानकारी दिए।

उनीहरुको साथबाट कार्तोस भनिने बन्दुक एक थान र सोमा लाग्ने गोलीगठ्ठा बरामद गरिएको छ।

पक्राउ परेका चौधरीको घर खानतलासी गर्दा बाघको दाँतजस्तो देखिने आखेटोपहार सात थान, माउजर भनिने बन्दुक एक थान, गोलीगठ्ठा र भारतीय ५०० का नोट १३६ थान बरामद गरिएको थापामगरले जानकारी दिए।

पक्राउ परेका दुवैलाई संरक्षित वन्यजन्तु एकसिंगे गैँडा मार्ने उद्योग र संरक्षित वन्यजन्तुको आखेटोपहार खरिद बिक्री मुद्दामा अनुसन्धान सुरु गरिएको निकुञ्जले जानकारी दिएको छ।

दुवैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (५घ) र दफा २६ (१) बमोजिम सजायको माग गर्दै नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता गरिएको छ। रासस


प्रकाशित : मंगलबार, साउन ५ २०८३१८:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend