काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्राइभेट विमान ल्याण्ड भएको छ। पोखरा विमानस्थलमा ११ बजेर ३८ मिनेटमा अवतरण भएको हो।
विमानमा चालकमात्रै रहेको पोखरा विमानस्थल स्रोतले जानकारी दिएको छ। विमान बंगलादेशको ढाकाबाट आएको हो। विमान 'फेरी उडान'अनुसार अनुमति लिएर अवतरण भएको हो।
विमान पोखराबाट पाकिस्तानको लाहोर जाने तालिका तय रहेको विमानस्थलले जनाएको छ।
विमानको कल साइन एन ५५५ भीजी रहेको छ। अमेरिकामा दर्ता रहेको विमान पछिल्लो समय एसियाका विभिन्न देशमा उडानमा रहेको उडान तालिकामा देखिन्छ। यो विमान पछिल्लो समय सिंगापुरमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
ढाका जानुअघि उक्त विमान थाइल्यान्डमा थियो। विमान पोखरा आएको कारण भने खुलेको छैन।