जनकपुरधाम- जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२/८३ मा एक करोड १४ लाख ३६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।
सो अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने १३ हजार ४१६ सवारी कारबाहीबाट एक करोड १४ लाख ३६ हजार रूपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए।
आव २०८१/८२ मा ३२ हजार १५७ सवारी चालकमाथि गरिएको कारबाहीबाट दुई करोड ५१ लाख १९ हजार ५०२ रूपैयाँ राजस्व संकलन गरेको थियो।
त्यस अवधिमा सिरहा जिल्लामा आव २०८२/८३ मा भएको एक हजार २० सवारी दुर्घटना भएका थिए। ती दुर्घटनमा परी ६२ पुरुष, सात महिला र १२ जना बालबालिकाको मृत्यु भएको थियो भने एक हजार ६७६ जना घाइते भए।
अघिल्लो आव २०८१/८२ मा सिरहामा ९६७ सवारी दुर्घटना हुँदा ६४ पुरुष, १४ महिला र ११ बालबालिकाको मृत्यु भएको थियो। ती घटनामा एक हजार ५५४ घाइते भएका थिए ।
सडक अवस्था, मानवीय लापरबाहीलगायतका कारण सवारी दुर्घटना केही बढे पनि विगतका तुलनामा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या त्यस आर्थिक वर्षमा घटेको प्रहरी निरीक्षक मरासिनीले बताए।
पछिल्लो वर्षमा ट्राफिक सचेतना र नियमित जाँचका कारण सवारी दुर्घटनामा कमी आएको विश्वास गरिएको छ। रासस