काठमाडौं- आरएसडीसी लघुवित्त वित्तीय संस्था ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानीमा गिरावट आए तापनि खुद नाफामा भने उल्लेख्य सुधार देखिएको छ।
गत असार मसान्तसम्ममा लघुवित्तले १३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १० करोड १८ लाख रुपैयाँको तुलनामा ३५.७६ प्रतिशतले बढी हो।
खुद कर्जा प्रवाहमा आएको संकुचनका कारण लघुवित्तको खुद ब्याज आम्दानी अघिल्लो वर्षको २२ करोड ३६ लाख रुपैयाँबाट घटेर १९ करोड १५ लाख रुपैयाँमा झरेको छ।
खुद ब्याज आम्दानी घटे तापनि ५ करोड ५८ लाख रुपैयाँ बराबरको सम्भावित कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) रिभर्स भएपछि सञ्चालन नाफा र खुद नाफा बढाउन मुख्य सहयोग पुगेको छ।
समीक्षा अवधिमा लघुवित्तको कुल वितरणयोग्य नाफा ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने प्रतिशेयर वितरणयोग्य आम्दानी ११ रुपैयाँ ४ पैसा कायम भएको छ। यसैगरी संस्थाको कोषको लागत (कस्ट अफ फन्ड्स) ६.१७ प्रतिशतबाट घटेर ४.८७ प्रतिशतमा झरेकाले ब्याज खर्च नियन्त्रणमा सहयोग पुगेको देखिन्छ।
आधार दर (बेस रेट) पनि ६.९६ प्रतिशतबाट घटेर ५.५३ प्रतिशत कायम भएपछि थोक कर्जा लिने साझेदार लघुवित्त संस्थाहरूलाई प्रतिस्पर्धी दरमा कर्जा उपलब्ध गराउन सहज भएको छ।
अघिल्लो वर्ष ३.३४ प्रतिशत रहेको निष्क्रिय कर्जा सामान्य बढेर ३.९२ प्रतिशत पुगेको भए तापनि खुद निष्क्रिय कर्जा ०.३६ प्रतिशतमा सीमित रहनु र प्रोभिजन कभरेज अनुपात ११६.७० प्रतिशत पुग्नुले सम्भावित कर्जा जोखिम व्यवस्थापनमा संस्था मजबुत अवस्थामा रहेको छ।