मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

पूर्व-पश्चिम राजमार्गमा ‘ल्याण्डमार्क’ पुल निर्माण जारी, रतुवा पुलको भौतिक प्रगति ५० प्रतिशत

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ४ २०८३
पूर्व-पश्चिम राजमार्गमा ‘ल्याण्डमार्क’ पुल निर्माण जारी, रतुवा पुलको भौतिक प्रगति ५० प्रतिशत

वर्षायाममा चीनबाट स्टिल ढुवानी गर्न सडक अवरोधका कारण केही समस्या देखिए पनि अन्य प्राविधिक र समन्वयका कार्यहरू निरन्तर रहेका छन्।

काठमाडौं- पूर्व-पश्चिम राजमार्गअन्तर्गतका ठूला र लामा पुलहरूलाई ‘ल्याण्डमार्क ब्रिज’ का रूपमा विकास गर्ने सडक विभागको नीतिअनुरूप झापाको रतुवा खोलामा आकर्षक पुल निर्माण जारी छ।

काँकडभिट्टादेखि लौहीपुरसम्मको ९५ किलोमिटर सडक खण्डमा निर्माण भइरहेका ६ वटा ठूला पुलमध्ये ५ सय ८५ मिटर लामो रतुवा पुलको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको हो।

कोरियाली परामर्शदाता कम्पनी ‘सोसुङ’ ले डिजाइन गरेको यो पुल आधुनिक ‘आर्च स्टिल ट्रस’ प्रविधिमा आधारित छ। पुलको कुल चौडाइ १६.५ मिटर रहने काँकडभित्ता-लौकही सडक योजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतीले बताए।

जसमा डबल लेनसहित सर्भिस लेन र फुटपाथको समेत व्यवस्था गरिएको र पुललाई कलात्मक र बलियो बनाउन ८७ देखि ९० मिटरसम्मका लामा स्पानहरू राखिएका जानकारी दिए। उनका अनुसार यसमा प्रयोग गरिएको ४१० र ४२० ग्रेडको उच्च गुणस्तरको स्टिल चीनबाट आयात गरिएको हो।

पुल निर्माणका लागि आवश्यक स्टिलका सामग्रीहरू तयार गर्न निर्माण व्यवसायीले मोरङको उर्लाबारीमा उच्च प्रविधियुक्त ‘फ्याब्रिकेसन यार्ड’ स्थापना गरेका छन्। उक्त यार्डमा सीएनसी मेसिनमार्फत कम्प्युटराइज्ड कटिङ र नियन्त्रित वेल्डिङको काम भइरहेको छ।

नेपालमै पहिलो पटक यति ठूलो आकारको ग्याल्भेनाइजेसन ट्यांक निर्माण गरी पुलका संरचनाहरूलाई खिया नलाग्ने बनाउने (ग्याल्भेनाइजेसन) काम भइरहेको छ।

लोहेन्द्र, बक्रा र रतुवा खोलाका तीनवटा पुलहरूलाई एउटै प्याकेजमा राखेर ठेक्का लगाइएको छ। यी तीनवटै पुलको कुल निर्माण लागत करिव साढे ५ अर्ब रुपैयाँ रहेको छ। कोबेक, सीआरइजिसी र तुँदी जेभीले निर्माण गरिरहेको यस परियोजनामा स्टिलको काम चिनियाँ प्राविधिकहरूले र पिएससी गर्डरको काम नेपाली निर्माण कम्पनी तुँदीले गरिरहेका छन्। सम्झौताअनुसार सन् २०२७ फेब्रुअरी २ सम्ममा पुलको निर्माण सम्पन्न गरिसक्नुपर्नेछ।

वर्षायाममा चीनबाट स्टिल ढुवानी गर्न सडक अवरोधका कारण केही समस्या देखिए पनि अन्य प्राविधिक र समन्वयका कार्यहरू निरन्तर रहेका छन्।

विद्युतीय तार स्थानान्तरण लगायतका समन्वयका कामहरू सम्पन्न भइसकेका छन्। करिव ८० वर्ष आयु हुने अनुमान गरिएको यो पुलले आगामी ५० वर्षसम्मको सवारी चापलाई सहजै धान्न सक्ने प्राविधिकहरूको दाबी छ। हाल प्रयोगमा रहेको करिव ५० वर्ष पुरानो पुलको विकल्पमा यो नयाँ संरचना तयार भएपछि पूर्व-पश्चिम राजमार्गमा आवागमन थप सहज र सुरक्षित हुने विश्वास लिइएको प्रजापतीले बताए।


प्रकाशित : सोमबार, साउन ४ २०८३१५:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend