काठमाडौं- शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा सञ्चालित रिद्धि सिद्धि सिमेन्ट लिमिटेडको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा सञ्चालन आम्दानी घटेको छ। उद्योगमा बढ्दो प्रतिस्पर्धा, कच्चा पदार्थको लागत वृद्धि र पुँजीको बढ्दो आवश्यकताका कारण कम्पनीको नाफामा दबाब कायम रहेको देखिएको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको पहिलो नौ महिनामा ३ अर्ब ८९ करोड ३० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ९९ करोड ४० लाख रुपैयाँको तुलनामा २.५३ प्रतिशतले कम हो।
यद्यपि, आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको वार्षिक सञ्चालन आम्दानी ५ अर्ब ९८ करोड १० लाख रुपैयाँ पुगेको थियो, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.९० प्रतिशतले बढी हो। त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ५ अर्ब ८१ करोड २० लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँ तथा आर्थिक वर्ष २०७८/७९ मा ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो।
हेटौंडाको रातोमाटेमा उत्पादन केन्द्र रहेको कम्पनीले ‘रिद्धि सिद्धि’ र ‘मकवानपुर’ ब्रान्डअन्तर्गत ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीको वार्षिक ग्राइन्डिङ क्षमता ०.७३ मिलियन मेट्रिक टन र क्लिंकर उत्पादन क्षमता ०.८४ मिलियन मेट्रिक टन रहेको छ। आफ्नै चुनढुंगा खानीमार्फत कच्चा पदार्थ आपूर्ति गर्ने भएकाले कम्पनीले उत्पादन लागत व्यवस्थापनमा केही सहजता पाएको जनाएको छ।
आर्थिक वर्ष २०८१/८२ मा कच्चा पदार्थको खपत तथा बिक्री खर्च बढेपछि कम्पनीको सञ्चालन नाफा १ अर्ब ४५ करोड १० लाख रुपैयाँबाट घटेर १ अर्ब २५ करोड रुपैयाँमा सीमित भएको थियो। यद्यपि वित्तीय खर्च घटेकाले खुद नाफा ४ करोड १० लाख रुपैयाँबाट बढेर ८ करोड २० लाख रुपैयाँ पुगेको थियो भने ग्रस क्यास एक्रुअल्स पनि ४४ करोड ६० लाख रुपैयाँबाट बढेर ४९ करोड ९० लाख रुपैयाँ पुगेको थियो।
चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भने कम्पनीको सञ्चालन नाफा ७३ करोड ८० लाख रुपैयाँ, खुद नाफा २ करोड रुपैयाँ तथा ग्रस क्यास एक्रुअल्स ३१ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ। यसले कम्पनीको नाफामाथिको दबाब अझै कायम रहेको संकेत गरेको छ।
यस अवधिमा कम्पनीको ऋणभार पनि बढेको छ। विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कुल ऋण १२ अर्ब २१ करोड ४४ लाख रुपैयाँ पुगेको छ। यसमध्ये ८ अर्ब १४ करोड ९१ लाख रुपैयाँ दीर्घकालीन र ४ अर्ब ६ करोड ५२ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको कुल ऋण ११ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ थियो।
कार्यशील पुँजीको आवश्यकता पनि बढ्दै गएको देखिएको छ। कम्पनीको औसत मौज्दात अवधि २३४ दिनबाट बढेर २५८ दिन पुगेको छ भने सञ्चालन चक्र १६७ दिनबाट बढेर २०२ दिन पुगेको छ। आपूर्तिकर्तालाई भुक्तानी गर्ने अवधि घटेकाले व्यवसाय सञ्चालनका लागि थप कार्यशील पुँजी आवश्यक पर्ने अवस्था सिर्जना भएको कम्पनीले जनाएको छ।
इन्फोमेरिक्सले कम्पनीको दीर्घकालीन कर्जा रेटिङ ‘आईआरएन बीबीबी–’ र अल्पकालीन कर्जा रेटिङ ‘आईआरएन ए–३’ यथावत् कायम राखेको छ। रेटिङ संस्थाका अनुसार कम्पनीको स्थापित बजार, शंकर ग्रुप र अम्बे ग्रुपको व्यावसायिक सञ्जाल, आफ्नै चुनढुंगा खानीसहितको ब्याकवर्ड इन्टिग्रेसन र पछिल्लो समय इक्विटी पुँजी थपिएको पक्ष कम्पनीका सकारात्मक आधार हुन्।
यद्यपि उच्च ऋणभार, कार्यशील पुँजीमा उच्च निर्भरता, सिमेन्ट उद्योगमा चर्किंदो प्रतिस्पर्धा, कच्चा पदार्थको मूल्यमा उतारचढाव, विदेशी विनिमय दरको जोखिम तथा उद्योगको चक्रीय प्रकृतिका कारण आगामी दिनमा कम्पनीको नाफामा थप दबाब पर्न सक्ने इन्फोमेरिक्सले उल्लेख गरेको छ।
हाल नेपालमा करिब ६० वटा सिमेन्ट उद्योग र २० वटा क्लिंकर उद्योग सञ्चालनमा रहेकाले मूल्य प्रतिस्पर्धा अझ तीव्र हुने र त्यसले उद्योगको नाफामा असर पार्न सक्ने पनि रेटिङ प्रतिवेदनमा उल्लेख गरिएको छ।