मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढीपहिरो, नौ प्रमुख राजमार्ग अवरुद्ध

सोमबार, साउन ४ २०८३
लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढीपहिरो, नौ प्रमुख राजमार्ग अवरुद्ध

कोशी प्रदेशको भोजपुर नगरपालिका-५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

काठमाडौं- लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका नौ प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार,  कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा आंशिक अवरूद्ध छ।

कोशी प्रदेशको भोजपुर नगरपालिका-५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका-९ राजदुवाली र पाँचथरको याङवरक गाउँपालिका-१ खोबरे खोलास्थित मेची राजमार्ग पहिरोका कारण पूर्णरूपमा अवरुद्ध छ।

यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ माटेखोला क्षेत्रमा मध्यपहाडी लोकमार्गको दिक्तेल-भोजपुर सडकखण्ड पनि पहिरोबाट पूर्णरूपमा बन्द भएको  प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा सम्भावित बाढीका कारण बिपी राजमार्ग सञ्चालनमा रोक लगाइएको र काठमाडौं-हेटौँडा कान्ति लोकपथमा सम्भावित बाढी तथा पहिरो जोखिमका कारण अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जुरीखोला र कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्णरूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुण्डास्थित पासाङल्हामु सडक खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङस्थित पृथ्वी राजमार्ग पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० तिस्मारखानी क्षेत्रमा पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन रहेतापनि जवाङखोलास्थित सडक भने पूर्णरूपमा बन्द रहेको छ।

प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको जनाउँदै प्रहरीले यात्रा अघि सम्बन्धित निकायको पछिल्लो सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


प्रकाशित : सोमबार, साउन ४ २०८३१२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend