चितवन- चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पुर्याएको क्षतिबापत एक करोड २९ लाख ९८ हजार ३०७ रूपैयाँ राहत वितरण गरिएको छ। वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्नबाली तथा पशुधन क्षतिबापत सो रकम राहत वितरण गरेको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्जयजन्तुका कारण मानिसमा सामान्य क्षति भएको उपचारका लागि एक लाख ३४ हजार १७६, गम्भीर घाइतको उपचारका लागि २९ लाख ४२ हजार ४८१ रूपैयाँ, पाँचजना मानिसको मृत्यु भएको र उनीहरुलाई ५० लाख रूपैयाँ राहत प्रदान गरिएको छ।
यस्तै, वन्यजन्तुबाट पशुधनमा भएको क्षतिबापत २३ लाख ६० हजार दुईसय, भण्डारण गरेको अन्न क्षतिबापत ७० हजार, घरगोठ क्षतिबापत तीन लाख ३९ हजार ६५०, अन्नबाली क्षतिबापत २१ लाख आठ हजार ३००, कुखुरा क्षतितर्फ ४३ हजार ५ सय रूपैयाँ राहत वितरण गरिएको उनले जानकारी दिए।
निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा बसोबास गर्ने नागरिकलाई वन्यजन्तुले पुर्याएको क्षतिबापत हरेक वर्ष राहत प्रदान गर्दै आएको छ। रासस