काठमाडौं- पश्चिम एसियामा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा उकालो लागेको छ। अमेरिका र इरानबीचको सैन्य द्वन्द्व थप चर्किएसँगै विश्व तेल आपूर्तिको प्रमुख मार्ग स्टेट अफ हर्मुज को सुरक्षालाई लिएर बढेको चिन्ताले सोमबार कच्चा तेलको मूल्य प्रति ब्यारेल ९० अमेरिकी डलर नाघेको हो।
अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य ३ प्रतिशतभन्दा बढीले वृद्धि भई प्रति ब्यारेल ९० अमेरिकी डलरमाथि पुगेको छ। यो पछिल्ला केही सातायताकै उच्च स्तर हो। अमेरिकी डब्लुटीआई (डब्लुटीआई) कच्चा तेलको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ।
विश्व समुद्री मार्गबाट हुने कच्चा तेलको करिब पाँचौं हिस्सा स्टेट अफ हर्मुज हुँदै ओसारपसार हुने भएकाले त्यहाँको सुरक्षा अवस्थाले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ। अमेरिका–इरानबीचको सैन्य कारबाही तीव्र बनेपछि तेल आपूर्तिमा अवरोध आउन सक्ने जोखिम बढेको भन्दै लगानीकर्ताहरूले तेल खरिद बढाएका छन्।
बजार विश्लेषकहरूका अनुसार यदि स्टेट अफ हर्मुज क्षेत्रमा तनाव अझ चर्किँदै गएर तेल ढुवानी प्रभावित भयो भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझ महँगिन सक्छ। त्यसको असर विश्वव्यापी मुद्रास्फीति, ढुवानी लागत तथा इन्धनको खुद्रा मूल्यमा समेत पर्ने अनुमान गरिएको छ।
विश्व बजारमा तेलको मूल्यमा आएको यो वृद्धिले तेल आयातमा निर्भर मुलुकहरूमा थप आर्थिक दबाब सिर्जना गर्ने देखिएको छ। नेपालले पनि सम्पूर्ण पेट्रोलियम पदार्थ आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर बढिरहे आगामी दिनमा स्वदेशी बजारमा पनि इन्धनको मूल्यमा दबाब पर्न सक्ने आँकलन गरिएको छ।