काठमाडौं- धितोपत्र बजारका लागि गत आर्थिक वर्ष २०८२/८३ उत्साहजनक देखिएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा विभिन्न क्षेत्रका कुल २४ वटा कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति पाएका छन्।
यो संख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा बढी हो। अघिल्लो आर्थिक वर्ष बोर्डले १५ वटा कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको थियो।
गतवर्ष अनुमति पाउने कम्पनीहरूमध्ये सबैभन्दा बढी संख्या जलविद्युत समूहको रहेको छ। जसले प्राथमिक बजारमा हाइड्रो क्षेत्रको बलियो दबदबालाई निरन्तरता दिएको देखिन्छ।
सेबोनका अनुसार अनुमति पाएका २४ कम्पनीमध्ये १५ वटा जलविद्युत समूहका छन्। यसरी धेरै आईपीओ जारी गर्ने हाइड्रो कम्पनीहरूमा सोलु हाइड्रो लिमिटेड, भुजुङ हाइड्रो लिमिटेड, रिज लाइन इनर्जी लिमिटेड, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, सुपर खुदी जलविद्युत, शिखर पावर डेभलपमेन्ट र स्नो रिभर्स लिमिटेड रहेका छन्।
त्यसैगरी, टक्सार पिखुवा खोला, याम्बालिङ हाइड्रो, कालङ्गा हाइड्रो लिमिटेड, सानिगाड हाइड्रो लिमिटेड र माउन्ट एभरेष्ट पावरलगायतका हाइड्रो कम्पनीहरूले पनि गत वर्ष नै सर्वसाधारणका लागि सेयर निष्कासनको अनुमति पाएका छन्।
हाइड्रोबाहेक उत्पादन तथा प्रशोधन समूहका ७ कम्पनी, विकास बैंक समूहको १ कम्पनी र होटल तथा पर्यटन समूहको १ कम्पनीले आईपीओ जारी गर्ने स्वीकृति पाएका छन्।
यो आर्थिक वर्षमा पुँजी बजारमा ऐतिहासिक परिमाणमा सेयर आपूर्ति भएको छ। स्वीकृति पाएका २४ वटा कम्पनीको कुल ९ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६ सय रूपैयाँबराबरको ९ करोड ११ लाख ८७ हजार ९ सय ४६ कित्ता सेयर दोस्रो बजारमा सूचीकृत भइ कारोबार भइसकेको छ।
गत आर्थिक वर्ष फर्दर पब्लिक अफरिङ (एफपीओ) तर्फ भने सुस्तता देखिएको छ। गत आवमा मात्र एउटा कम्पनीले एफपीओ जारी गरेको छ। एफपीओ निष्कासन गर्ने एकमात्र कम्पनी विजय लघुवित्त वित्तीय संस्था रहेको छ, जसले प्रतिसेयर १ सय रूपैयाँ अंकित दरका कुल ४ लाख ६६ हजार ८ सय १७ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो।
यसैगरी, सामूहिक लगानी कोष (म्युचुअल फण्ड) तर्फ पनि गतवर्ष लगानीकर्ताहरूको आकर्षण निकै राम्रो देखिएको छ। समीक्षा अवधिमा ३३ वटा म्युचुअल फण्डका योजनाहरूले आफ्ना इकाइहरू बजारमा निष्कासन गरेका छन्। यी फण्डहरूले सर्वसाधारणका लागि कुल ३९ अर्ब ३२ करोड ५० लाख रूपैयाँ बराबरको ३ अर्ब ९३ करोड २५ लाख इकाइ जारी गरेका हुन्।
समग्रमा, गत आर्थिक वर्षमा जलविद्युत क्षेत्रको अगुवाइ, फण्डहरूको ठूलो आकारको निष्कासन र नयाँ कम्पनीहरूको प्रवेशले नेपाली पुँजी बजारको दायरालाई थप फराकिलो बनाएको देखिन्छ।