काठमाडौं- विदेशी लगानीकर्ता आकर्षित गर्न सरकारले ‘ग्लोबल टुर’ गर्ने योजना बनाएको छ।
निजी क्षेत्र तथा विदेशी लगानी ल्याउनका लागि अहिलेसम्म गरिएका सिफारिस कार्यान्वयनका लागि नियमकानून संशोधनको काम भइरहेको र त्यो सम्पन्न भएलगत्तै लगानीकर्ता आकर्षित गर्न ‘ग्लोबल टुर’ गर्ने सरकारको तयारी छ।
स्वदेशकै लगानीकर्ता, नेपालमा अहिले लगानी गरिरहेका प्रतिनिधि तथा कुटनीतिक नियोगसँगको सहकार्यमा कानूनी तथा संरचनागत सुधार गर्ने, त्यसपछि नयाँ सन्देश लिएर सरकारी प्रतिनिधिमण्डल विश्वव्यापी भ्रमणमा निस्किने तयारी भइरहेको छ।
नयाँ म्यान्डेटसहितको बहुमतको सरकार, सुशासनप्रतिको प्रतिबद्धता र नयाँ राजनीतिक सन्देशसहित सुधारको ठोस योजना लिएर लगानीकर्ता आकर्षित गर्न गन्तव्य बजारमै पुग्ने सरकारी योजना हो। यसको तयारी अर्थ मन्त्रालयको संयोजनमा हुनेछ।
यसका लागि सबैभन्दा पहिला राजदूतहरूको नियुक्ति, लगानी बोर्डको कार्यकारी अधिकृतको नियुक्ति हुनुपर्नेछ। यी सबै नियुक्ति भएपछि त्यस्ता भ्रमणको तालिका बन्नेछ।
अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार यसमा अहिले सामान्य अवधारणामा कुराकानी भएको छ। यस्तो भ्रमणमा लगानीकर्ता, प्रतिनिधिमूलक संस्था तथा नीति निर्मातासँगको अन्तरक्रियामात्र होइन 'हाइप्रोफाइल बिजनेस मिटिङ'को पनि पहल हुनेछ। मिटिङको पोर्टफोलियो अनुसारको नेतृत्व तय हुनेछ। ठूला अर्बपतिसँगको मिटिङले अर्थ राख्ने भएकाले त्यसको पनि पहल हुनेछ।
प्रधानमन्त्री बालेन्द्र शाह यस्तो ग्लोबल टुर अर्थमन्त्रीले गर्नुपर्नेमा रहेका छन्। वर्ल्ड इकनोमिक फोरमको निमन्त्रणा प्रधानमन्त्री शाहलाई आएपनि उनले त्यसमा अर्थमन्त्री जानुपर्ने बताइसकेका छन्।

.jpeg)