काठमाडौं- अमेरिका र इरानबीचको युद्ध थप चर्किएको छ। स्टेट अफ हर्जुमको नियन्त्रणलाई लिएर दुवै देशबीच संघर्ष तीव्र बन्दै जाँदा अमेरिकाले लगातार छैटौँ रात पनि इरानका विभिन्न सैन्य लक्ष्यहरूमा व्यापक हवाई तथा समुद्री आक्रमण गरेको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्डका अनुसार पछिल्लो कारबाही इरानको सैन्य क्षमता थप कमजोर बनाउने उद्देश्यले गरिएको हो।
अमेरिकी सेनाले लडाकु विमान, ड्रोन र युद्धपोतमार्फत इरानका तटीय निगरानी प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र, सैन्य रसद पूर्वाधार तथा समुद्री सैन्य क्षमतामाथि दर्जनौँ आक्रमण गरेको जनाएको छ। साथै इरानी बन्दरगाहहरूमा लगाइएको नाकाबन्दीलाई कडाइका साथ लागू गर्दै ओमानको खाडीमा एक तेल ट्यांकर नियन्त्रणमा लिइएको र नाकाबन्दी तोड्ने प्रयास गरेका तीनवटा व्यावसायिक जहाजलाई फर्काइएको सेनाले दाबी गरेको छ।
यता इरानले भने अमेरिकाले सैन्य लक्ष्यसँगै नागरिक पूर्वाधारलाई पनि निशाना बनाएको आरोप लगाएको छ। सरकारी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बासका पाँचवटा पुल, बन्दर खमिरको रेल स्टेशन तथा इरानशहर विमानस्थलमा आक्रमण भएको छ। बीबीसीले होर्मोजगान प्रान्तको बन्दर अब्बास नजिकै रहेको एउटा पुलमा भएको आक्रमण स्वतन्त्र रूपमा पुष्टि गरेको जनाएको छ। इरानको सरकारी समाचार संस्था इरनाका अनुसार ती आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ।
इरानको स्वास्थ्य मन्त्रालयका अनुसार अमेरिका-इरानबीच पुनः युद्ध सुरु भएयता हालसम्म कम्तीमा ३८ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन्।
अमेरिकी आक्रमणको जवाफस्वरूप इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले ओमानस्थित अमेरिकी समुद्री निगरानी रडार, कुवेत र बहराइनका अमेरिकी सैन्य लक्ष्य तथा सिरियाको अल-तनफस्थित अमेरिकी विशेष अपरेशन केन्द्रमा मिसाइल प्रहार गरेको दाबी गरेको छ। दुई दिनअघि इरानी सैनिक मारिएको घटनाको प्रतिशोधस्वरूप यी आक्रमण गरिएको आईआरजीसीले जनाएको छ। यद्यपि अमेरिका र सिरियाले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
यसैबीच जोर्डनको सेनाले शुक्रबार इरानबाट प्रहार गरिएका तीनवटा मिसाइल खसालेको जनाएको छ। कुनै मानवीय वा भौतिक क्षति नभएको बताइएको छ। इराकको कुर्दिस्तान क्षेत्रको सुलायमानियाहमा भएको अर्को आक्रमणमा आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् भने कुर्द सुरक्षा बलले त्यसको जिम्मेवार इरानलाई ठहर गरेका छन्। एरबिलमाथि प्रहार गरिएका आठवटा ड्रोन पनि खसालिएको जनाइएको छ।
युद्धको केन्द्र बनेको स्टेट अफ हर्जुम अझै बन्द रहेको छ। अमेरिकी तथा इजरायली आक्रमणपछि इरानले विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने यो समुद्री मार्ग प्रभावकारी रूपमा बन्द गरेपछि विश्व ऊर्जा आपूर्तिमा दबाब बढ्न थालेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुख फातिह बिरोलले आगामी केही साताभित्र अवस्था सामान्य नभए विश्व ऊर्जा आपूर्तिमा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।
द्वन्द्व बढ्दै जाँदा चीन र पाकिस्तानले दुवै पक्षलाई तत्काल युद्ध रोक्न र वार्तामा फर्किन आग्रह गरेका छन्। यता ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्प अझै पनि कूटनीतिक समाधानका लागि तयार रहेको जनाएको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार इरानले अझै पनि अमेरिकासँग सम्झौता गर्न चाहेको संकेत दिएको छ, तर स्टेट अफ हर्जुममा जहाजमाथि आक्रमण जारी राखे त्यसको परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएकी छन्।
उता इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले भने इरानको हितमा नभएको कुनै पनि सम्झौता स्वीकार नगर्ने स्पष्ट पार्दै स्टेट अफ हर्जुममा इरानको सुरक्षा व्यवस्थालाई राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको बताएका छन्। युद्धको तीव्रतासँगै विश्व ऊर्जा बजार, अन्तर्राष्ट्रिय व्यापार र पश्चिम एसियाको सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ।