काठमाडौं- एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माणाधीन काकडभिट्टा-लौकही सडक विस्तार आयोजनामा विद्युतीय पोल स्थानान्तरण नहुँदा निर्माण कार्य प्रभावित भएको छ।
ठेक्का सम्झौता भई काम सुरु भएको २९ महिना बितिसक्दा पनि सडक क्षेत्रमा रहेका पोलहरू नहटाइँदा आयोजनाले लक्ष्यअनुसार भौतिक प्रगति हासिल हुन नसकेको हो।
सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) ले सन् २०२४ फेब्रुअरी १ मा ठेक्का सम्झौता गरी यस आयोजनाको निर्माण कार्य अघि बढाएको थियो।
चिनियाँ निर्माण कम्पनी सीआरएफजी र नेपाली कम्पनी टुण्डी जेभीले संयुक्त रूपमा निर्माण गरिरहेको यस सडकको हालसम्मको समग्र भौतिक प्रगति ४३ प्रतिशत पुगेको छ। कुल ४० किलोमिटर लम्बाई रहेको यस खण्डमा हालसम्म एकतर्फी १८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ।
निर्माण कम्पनीका प्रतिनिधि डोरमणि पौडेलकाअनुसार ग्रामिण तथा वन क्षेत्रमा काम गर्न समस्या नभए पनि बजार क्षेत्रमा विद्युतीय पोलका कारण अवरोध सिर्जना भएको छ।
विशेषगरी दोस्रो खण्डअन्तर्गत झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको क्षेत्रमा काम गर्न निकै असहज भएको उनले बताए। सकेसम्म छिटो गरौँ भनेर सुरु गर्दा पनि दुई वर्षसम्म पोल नसारिएकाले काम गर्न धेरै कठिन रहेको बताए।
काकडभिट्टा-लौकही सडक योजना (पश्चिम खण्ड) का योजना प्रमुख जगत प्रजापतीले सडक निर्माण सुरु हुनुभन्दा एक वर्षअगावै नेपाल विद्युत प्राधिकरणलाई पोल सार्नका लागि आवश्यक रकम भुक्तानी गरिसकिएको जानकारी दिए।
ठेक्का लाग्नु भन्दा एक वर्षअघिबाटै विद्युत प्राधिकरणसँग स्म्झौता गरेको भएपनि पोल सार्ने काम पूरा नभएको बताए। यसले जोखिम बढाएको भन्दै आपत्ति जनाए। २ नम्बर प्याकजेमा अझै ३० प्रतिशत बढी पोलहरु हटाउन बाँकी रहेको बताए। असारसम्म पोल हटाइसक्नुपर्ने भनेपनि नहटाइएको उनको गुनासो छ।
विद्युत प्राधिकरणले असार मसान्तसम्म पोल सार्ने कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाए पनि हालसम्म ३० प्रतिशतभन्दा बढी पोल सार्न बाँकी रहेको आयोजनाले जनाएको छ।
पोल स्थानान्तरण नभएकै कारण झापाको दमक तथा मोरङको पथरी र मंगलबारे बजार क्षेत्रमा सडक निर्माणले गति लिन नसक्दा स्थानीयस्तरमा जनगुनासो समेत बढ्दो छ। हाल यो सडकलाई तीन खण्डमा विभाजन गरी स्तरोन्नतिको कार्य भइरहेको छ।