शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

राष्ट्र बैंकको रिपोर्ट : वित्त कम्पनीहरूको कमजोर अवस्था देखाउने ९ सूचक

शुक्रबार, साउन १ २०८३
राष्ट्र बैंकको रिपोर्ट : वित्त कम्पनीहरूको कमजोर अवस्था देखाउने ९ सूचक

काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वित्तीय स्थायित्व प्रतिवेदन २०२४-२५’ ले वित्त कम्पनीहरूको वित्तीय अवस्था थप दबाबमा परेको देखाएको छ।

प्रतिवेदनअनुसार बढ्दो निष्क्रिय कर्जा, घट्दो पुँजी पर्याप्तता, कमजोर तरलता र साँघुरिँदै गएको ब्याज आम्दानीको अन्तरले वित्त कम्पनीहरूको वित्तीय स्वास्थ्यमा चुनौती थपिएको हो।

प्रतिवेदनले वित्त कम्पनीहरूको अवस्था कमजोर बन्दै गएको देखाउने नौ प्रमुख सूचक सार्वजनिक गरेको छ।

पहिलो, वित्त कम्पनीहरूको निष्क्रिय कर्जा (एनपीएल) एक वर्षमै ९.८७ प्रतिशतबाट बढेर ११.०५ प्रतिशत पुगेको छ। दोहोरो अंकमा पुगेको खराब कर्जाले कर्जा असुली चुनौतीपूर्ण बन्दै गएको र सम्पत्तिको गुणस्तर कमजोर भएको संकेत गरेको छ।

दोस्रो, कुल पुँजी पर्याप्तता अनुपात १४.८९ प्रतिशतबाट घटेर १३.९३ प्रतिशतमा झरेको छ। यसले जोखिम वहन गर्ने क्षमता खुम्चिँदै गएको देखाएको छ।

तेस्रो, प्राथमिक पुँजीकोष अनुपात पनि १२.८५ प्रतिशतबाट घटेर ११.४४ प्रतिशतमा सीमित भएको छ। नियामकीय न्यूनतम सीमाभन्दा माथि रहे पनि यसको निरन्तर गिरावटलाई राष्ट्र बैंकले चिन्ताजनक मानेको छ।

चौथो, तरल सम्पत्ति-निक्षेप अनुपात ३२.०८ प्रतिशतबाट घटेर २४.८७ प्रतिशतमा झरेको छ। यसले वित्त कम्पनीहरूको तरलता सहज अवस्थामा रहे पनि एक वर्षमै उल्लेखनीय रूपमा खुम्चिएको देखाएको छ।

पाँचौँ, कर्जा-निक्षेप अनुपात ७७.६३ प्रतिशतबाट बढेर ७९.७४ प्रतिशत पुगेको छ। निक्षेपको तुलनामा कर्जा विस्तार बढ्दै जाँदा तरलतामाथि थप दबाब पर्ने संकेत देखिएको छ।

छैटौँ, शुद्ध ब्याज अन्तर ४.५४ प्रतिशतबाट घटेर ४.३९ प्रतिशतमा सीमित भएको छ। यसले कर्जाबाट हुने आम्दानी र निक्षेपमा तिर्नुपर्ने ब्याजबीचको अन्तर साँघुरिँदै गएको देखाएको छ।

सातौँ, वित्त कम्पनीहरूको आधारदर १०.७४ प्रतिशतबाट घटेर ८.४४ प्रतिशतमा झरेको छ। ब्याजदर घटे पनि कर्जा माग र कर्जा असुलीमा अपेक्षित सुधार हुन सकेको छैन।

आठौँ, नाफाका सूचकमा सुधार देखिए पनि त्यो दिगो देखिएको छैन। सम्पत्तिमा प्रतिफल (आरओए) ०.२१ प्रतिशतबाट ०.५० प्रतिशत र पुँजीमा प्रतिफल (आरओई) १.९४ प्रतिशतबाट ५.०२ प्रतिशत पुगेको छ। तर राष्ट्र बैंकले बढ्दो खराब कर्जाका कारण यो सुधार दीर्घकालीन रूपमा चुनौतीपूर्ण हुन सक्ने जनाएको छ।

नवौँ, प्रतिवेदनले वित्त कम्पनीहरूको समग्र वित्तीय अवस्था अझै दबाबमै रहेको निष्कर्ष निकालेको छ। बढ्दो निष्क्रिय कर्जा, घट्दो पुँजी पर्याप्तता, कमजोर तरलता र घट्दो ब्याज अन्तरले वित्त कम्पनीहरूले अब कर्जा असुली, जोखिम व्यवस्थापन, पुँजी सुदृढीकरण तथा सम्पत्तिको गुणस्तर सुधारलाई उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता प्रतिवेदनले औँल्याएको छ।

वित्त कम्पनीहरूको कमजोर अवस्था देखाउने ९ सूचक (तथ्यांकमा)

सूचक २०८१ असार २०८२ असार  
१. कुल पुँजी पर्याप्तता अनुपात १४.८९% १३.९३%  
२. प्राथमिक पुँजीकोष अनुपात १२.८५% ११.४४%  
३. निष्क्रिय कर्जा (एनपीएल) ९.८७% ११.०५%  
४. सम्पत्तिमा प्रतिफल (आरओए) ०.२१% ०.५०%  
५. पुँजीमा प्रतिफल (आरओई) १.९४% ५.०२%  
६. शुद्ध ब्याज अन्तर ४.५४% ४.३९%  
७. कर्जा-निक्षेप अनुपात ७७.६३% ७९.७४%  
८. कुल तरल सम्पत्ति-कुल निक्षेप अनुपात ३२.०८% २४.८७%  
९. आधारदर १०.७४% ८.४४%  


प्रकाशित : शुक्रबार, साउन १ २०८३१२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend