शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सेयर बजारमा बढेको पुँजीगत लाभकर र नयाँ आयकर प्रणाली आजबाट लागु

शुक्रबार, साउन १ २०८३
सेयर बजारमा बढेको पुँजीगत लाभकर र नयाँ आयकर प्रणाली आजबाट लागु

यो आर्थिक वर्षको बजेटमा ल्याएको पुँजीगत लाभकर सम्बन्धी व्यवस्था अनुसार आजबाट सेयर कारोबारबाट हुने नाफामा अब अल्पकालीन लगानीकर्ता, जसले एक वर्षभन्दा कम समय सेयर होल्ड गर्छन्, उनीहरूका लागि १० प्रतिशत कर निर्धारण गरिएको छ।

काठमाडौं- सरकारले चालु आर्थिक वर्षका लागि बजेटमार्फत घोषणा गरेको नयाँ पुँजीगत लाभकर र परिमार्जित आयकर प्रणाली आज साउन १ गतेबाट लागु भएको छ।

यो आर्थिक वर्षको बजेटमा ल्याएको पुँजीगत लाभकरसम्बन्धी व्यवस्थाअनुसार आजबाट सेयर कारोबारबाट हुने नाफामा अब अल्पकालीन लगानीकर्ताका लागि १० प्रतिशत कर निर्धारण गरिएको छ।

त्यसैगरी एक वर्षभन्दा बढी समय होल्ड गरेर सेयर बिक्री गर्ने दीर्घकालीन लगानीकर्ताका लागि ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ।

यसअघि यस्तो करको दर अल्पकालीनका लागि ७.५ र दीर्घकालीनका लागि ५ प्रतिशत मात्र रहेको थियो भने कम्पनी वा संस्थाहरूको हकमा भने १० प्रतिशत नै पुँजीगत लाभकर यथावत राखिएको छ।

यसैगरी सरकारले व्यक्तिगत आयकरको स्ल्याबमा पनि हेरफेर गर्दै नयाँ दरहरू कार्यान्वयनमा ल्याएको छ। नयाँ व्यवस्थाअनुसार व्यक्तिको वार्षिक करयोग्य आम्दानीको पहिलो १० लाख रुपैयाँसम्म १ प्रतिशत सामाजिक सुरक्षा कर वा न्यूनतम कर लाग्नेछ।

त्यसैगरी १० लाख १ रुपैयाँदेखि १५ लाख रुपैयाँसम्मको आम्दानीमा १० प्रतिशत, १५ लाख १ रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मको आम्दानीमा २० प्रतिशत र २५ लाख १ रुपैयाँदेखि ४० लाख रुपैयाँसम्मको आम्दानीमा २७ प्रतिशत कर निर्धारण गरिएको छ।

वार्षिक ४० लाख रुपैयाँभन्दा माथिको सम्पूर्ण आम्दानीमा भने २९ प्रतिशतको अधिकतम दरमा कर लाग्ने कानुनी व्यवस्था गरिएको छ।

यो व्यवस्था अघिल्लो आर्थिक वर्षको आयकर ऐन २०५८ को तुलनामा परिमार्जित हो। अघिल्लो वर्ष एकल व्यक्तिका हकमा पहिलो ५ लाख रुपैयाँसम्म र दम्पतीका हकमा पहिलो ६ लाख रुपैयाँसम्मको वार्षिक आयमा १ प्रतिशत सामाजिक सुरक्षा कर मात्र लिने व्यवस्था थियो।

त्यसभन्दा माथिको अर्को २ लाखमा १० प्रतिशत, अर्को ३ लाखमा २० प्रतिशत, अर्को १० लाखमा ३० प्रतिशत र अर्को ३० लाखमा ३६ प्रतिशत कर लाग्दै ५० लाखभन्दा बढीको आम्दानीमा ३९ प्रतिशतसम्मको उच्च कर लाग्ने कानुनी व्यवस्था रहेकोमा यस वर्ष सरकारले करको दर र सीमा दुवैमा फेरबदल गरेको छ।


प्रकाशित : शुक्रबार, साउन १ २०८३०७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend