काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ९ महिनापछि नेतृत्व पाएको छ।
सरकारले नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकको कामसमेत गर्नेगरी अध्यक्षमा नियुक्त गरेको हो।
२०८२ कात्तिक ७ गतेदेखि निगम नेतृत्वविहीन थियो। अहिले नियुक्त भएका श्रेष्ठ निगमकै पूर्वकर्मचारी हुन्। निगमको जागिर छोडेको २० वर्षपछि श्रेष्ठ नेतृत्वमा आएका हुन्।
२५ वर्ष निगममै काम गरेका श्रेष्ठले अहिले निगममा देखिएका चुनौतीको सामना गर्न नेतृत्व लिएको बताए। 'अवस्था राम्रो छैन, नराम्रो अवस्थामा पुगेको संस्थाको सुधार गर्न भनेर नै नेतृत्व लिन तयार भएको हो' बिजनेस न्युजसँग उनले भने।
निमगको सुधार गरी कम्पनी मोडलमा सञ्चालन गर्ने सरकारको पहिलो प्राथमिता रहेको र आफूले उक्त काम गर्न सक्ने प्रतिबद्धतासहित नेतृत्व लिएको उनले बताए। निगमलाई अहिलेको अवस्थामा सञ्चालन गरेर उपलब्धी पाउन नसकिने भएकाले कम्पनी मोडलमा रूपान्तरण गर्ने नै आफ्नो पहिलो काम हुने उनले बताए।
निगम अहिले चरम आर्थिक संकटमा छ। जहाज खरिदमा लिएको ऋणको किस्ता र ब्याजसमेत भुक्तानी गर्न सकेको छैन। सम्पत्तिभन्दा निगमको ऋण बढी भइसकेको छ।
निगमको बजार हिस्सा पछिल्लो चार वर्षमा मात्रै २५ प्रतिशतबाट घटेर ११ प्रतिशतमा आइसकेको छ। अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिएको दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी जहाजको समयमा नै इन्जिन मर्मत तथा पार्टपुर्जा खरिद नहुँदा महिनौँ जहाज ग्राउन्डेड भइरहेको छ।
अबको केही महिनाभित्रै निगमको दुईवटै वाइडबडी जहाज पनि ग्राउन्डेड हुने अवस्थामा पुगेको छ। जहाजको इन्जिन मर्मत तथा भाडामा लिने कामका लागि कम्पनी छनोट भएको छैन।