मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सस्तियो बैंकको ब्याज : वाणिज्य बैंकको आधार दर ४.८८ प्रतिशत र निक्षेपको ब्याज ३.२९ प्रतिशत

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ३० २०८३
सस्तियो बैंकको ब्याज : वाणिज्य बैंकको आधार दर ४.८८ प्रतिशत र निक्षेपको ब्याज ३.२९  प्रतिशत

जेठ मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.६४ प्रतिशतमा झरेको छ। गत अघिल्लो वर्षको जेठमा ७.९९ प्रतिशत रहेको थियो।

काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को ११ महिना (२०८३ जेठसम्म) को वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समग्र ब्याजदरमा उल्लेख्य गिरावट आएको छ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष ट्रेजरी बिल, अन्तरबैंक दर, आधार दरका साथै निक्षेप र कर्जा दुवैको भारित औसत ब्याजदर घटेको हो।

जेठ मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.६४ प्रतिशतमा झरेको छ। गत अघिल्लो वर्षको जेठमा ७.९९ प्रतिशत रहेको थियो।

यसैगरी विकास बैंकहरूको कर्जाको ब्याजदर ९.४० प्रतिशतबाट घटेर ७.७१ प्रतिशत र वित्त कम्पनीहरूको १०.२२ प्रतिशतको दोहोरो अंकबाट घटेर ८.९० प्रतिशतमा सीमित भएको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्षको जेठ मसान्तमा २.९४ प्रतिशत रहेको ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर यो आर्थिक वर्षको जेठ मसान्तसम्म घटेर २.६४ प्रतिशत कायम भएको छ। 

त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर पनि मसान्तको २.९९ प्रतिशतबाट घटेर जेठ मसान्तमा २.७३ प्रतिशतमा ओर्लिएको छ।

बैंकहरूको औसत आधार दरमा पनि अघिल्लो जेठको तुलनामा यस वर्ष ठूलो गिरावट देखिएको छ। जेठ मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ४.८८ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६.०९ प्रतिशत थियो। 

यस्तै, विकास बैंकहरूको औसत आधार दर ८.२९ प्रतिशतबाट घटेर ६.८६ प्रतिशत र वित्त कम्पनी (फाइनान्स) हरूको ९.०२ प्रतिशतबाट घटेर ७.१६ प्रतिशत कायम भएको छ।

तरलता सहज हुँदै जाँदा वित्तीय संस्थाहरूको निक्षेपको भारित औसत ब्याजदर पनि सस्तिएको छ। वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर अघिल्लो वर्षको ४.२९ प्रतिशतबाट घटेर ३.२९ प्रतिशतमा आइपुगेको छ।

यस्तै विकास बैंकहरूको निक्षेप दर ५.०२ प्रतिशतबाट घटेर ३.६२ प्रतिशत र वित्त कम्पनीहरूको ६.०९ प्रतिशतबाट घटेर ४.४६ प्रतिशत कायम भएको छ।


प्रकाशित : मंगलबार, असार ३० २०८३११:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend