मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

१५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ३० २०८३
१५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

अनलाइन बिडिङ सिस्टम मार्फत आज मध्याह्न १२ बजेसम्म यस ऋणपत्रको बोलकबोल गर्न सकिने व्यवस्था मिलाइएको छ।  यस ऋणपत्रको ब्याजदर सफ्टवेयर मार्फत बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ भने आर्जित ब्याजको भुक्तानी अर्धवार्षिक रूपमा गरिने राष्ट्र बैंकले जनाएको छ।

काठमाडौं-  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले १५ अर्ब रुपैयाँ बराबरको १ वर्ष अवधिको ऋणपत्र निष्कासन तथा बोलकबोल गर्ने भएको छ। 

राष्ट्र बैंकले 'नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ज' नाम दिइएको उक्त ऋणपत्र २०८३ असार ३० गते अर्थात् आजै बोलकबोल र निष्कासन गर्न लागेको हो। 

अनलाइन बिडिङ सिस्टम मार्फत आज मध्याह्न १२ बजेसम्म यस ऋणपत्रको बोलकबोल गर्न सकिने व्यवस्था मिलाइएको छ।  यस ऋणपत्रको ब्याजदर सफ्टवेयर मार्फत बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ भने आर्जित ब्याजको भुक्तानी अर्धवार्षिक रूपमा गरिने राष्ट्र बैंकले जनाएको छ। 

ऋणपत्रको साँवा भुक्तानी भने आगामी २०८४ साल असार ३० गते हुनेछ। राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टी) मात्र यस बोलकबोल प्रक्रियामा सहभागी हुन पाउनेछन्। 

इच्छुक संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा कुल आह्वान रकमसम्म ५ करोडले भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्।  केन्द्रीय बैंकका अनुसार यो ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाहरूले धितोको रूपमा समेत प्रयोग गर्न सक्नेछन्।

लगानी रकमलाई अनिवार्य नगद मौज्दात मा गणना गर्न नपाइने भए पनि बैंकहरूले वैधानिक तरलता अनुपात  र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न पाउने सुविधा रहेको छ। ऋणपत्रको रकम बाँडफाँट गर्दा एकल ब्याजदर को विधि अपनाइने र समान ब्याजदर परेमा समानुपातिक रूपमा बाँडफाँट गरिने सूचनामा उल्लेख छ।

यदि स्वीकृत बोलपत्र बमोजिम निष्कासनको दिन काउन्टरपार्टीको खातामा पर्याप्त रकम नभएमा २.५० प्रतिशत हर्जानासहित ६ महिनासम्म खुला बजार कारोबारमा सहभागी हुन बन्देज लगाइने समेत राष्ट्र बैंकले जनाएको छ। 


प्रकाशित : मंगलबार, असार ३० २०८३१०:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend