मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र, दुई महिनाभित्र परीक्षण उत्पादन गर्ने लक्ष्य

मंगलबार, असार ३० २०८३
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र, दुई महिनाभित्र परीक्षण उत्पादन गर्ने लक्ष्य

लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रिया निर्णायक चरणमा पुगेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने उद्देश्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको छ।

काठमाडौं- लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रिया निर्णायक चरणमा पुगेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने उद्देश्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको छ। सोही तयारीअन्तर्गत उद्योग पुनः सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरिएको छ।

उद्योग मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित अध्ययन कार्यदलले मंगलबार मन्त्री यादवलाई प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा उद्योग पुनः सञ्चालनका लागि हालसम्म भएका तयारी, आवश्यक पूर्वाधार सुधार तथा आगामी कार्ययोजनाबारे विस्तृत खाका प्रस्तुत गरिएको छ।

प्रतिवेदनअनुसार सरकारले दिएको निर्देशनबमोजिम नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। सोही लक्ष्यअनुसार उद्योग परिसरमा रहेका मेसिनहरूको मर्मत तथा आवश्यक तयारीको काम तीव्र गतिमा अघि बढाइएको छ।

कार्यदलले प्रतिवेदन बुझाए पनि परीक्षण उत्पादनका लागि आवश्यक काम भने यसअघि नै सुरु भइसकेको छ। उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा असारको पहिलो सातामै ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ। उक्त बजेटबाट प्रारम्भिक मर्मत, सरसफाइ तथा परीक्षण उत्पादनका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ।

उद्योग सञ्चालनको जिम्मेवारी पाएपछि नेपाली सेनाको प्राविधिक टोली उद्योग परिसरमा खटिएको छ। टोलीले उद्योग क्षेत्रको सरसफाइ, पुराना मेसिनहरूको परीक्षण तथा मर्मत कार्य सुरु गर्नुका साथै परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थसमेत खरिद गरिसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

उद्योगको भौतिक संरचना पुनः सञ्चालनयोग्य बनाउन पूर्वाधार विकास मन्त्रालयले ५० लाख रुपैयाँ बराबरको लागत अनुमान तयार पारेको छ। सोही आधारमा भवन तथा अन्य पूर्वाधार मर्मत गर्ने जिम्मेवारी पूर्वाधार विकास मन्त्रालयले लिएको छ।

यस्तै उद्योगभित्रको विद्युत् प्रणाली मर्मत गर्ने काम हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गरिरहेको छ। प्रतिवेदनअनुसार विद्युत् मर्मतको काम सम्पन्न भइसकेको छ, जसले परीक्षण उत्पादनका लागि आवश्यक आधारभूत पूर्वाधार तयार भएको संकेत गरेको छ।

कार्यदलले तत्कालका लागि उद्योगमा रहेका पुराना मेसिन मर्मत गरी परीक्षण उत्पादन सञ्चालन गर्ने र त्यसको नतिजाका आधारमा उद्योगको दीर्घकालीन सञ्चालन योजना तयार गर्ने सुझाव दिएको छ। परीक्षण उत्पादन सफल भएपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी आवश्यक कानुनी, नीतिगत तथा व्यवस्थापकीय निर्णयमार्फत उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले हेटौंडा कपडा उद्योग राष्ट्रिय गौरवसँग जोडिएको उद्योग भएकाले यसको पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्। उनले कार्यदलले दिएका सुझाव कार्यान्वयन गर्दै निर्धारित समयभित्र परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय, बजेट व्यवस्थापन तथा संस्थागत सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्।

 


प्रकाशित : मंगलबार, असार ३० २०८३०७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend