काठमाडौं- देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। बाढी र पहिरोले सडक बगाउने र बाटो अवरुद्ध बढेपछि यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
गृह मन्त्रालयको विपद् पोर्टलकाअनुसार पछिल्लो एक हप्ता (असार २२ देखि २९ गते) भित्र मात्रै देशका ५६ स्थानमा बाढी, भारी वर्षा र सडक अवरोधका कारण उच्च शतर्कता अपनाउन भनिएको छ।
सडक विभाग र प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार बाढी र पहिरोका कारण कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो राजमार्ग ठप्प भएका छन्। असार २९ गते बिहान ६ः३० बजेसम्मको तथ्यांकअनुसार अरनिको राजमार्गदेखि मदन भण्डारी राजमार्गसम्मका मुख्य खण्डहरू पूर्ण रूपमा बन्द छन्।
विपद् व्यवस्थापन शाखाकाअनुसार वागमती प्रदेशको सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ कोदारीमा असार २९ गते गएको पहिरोका कारण अरनीको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
यस्तै, कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ भ्यारडेडाँडामा असार २७ गतेदेखि नै पहिरो जाँदा ललितपुर-हेटौँडा जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध छ।
काभ्रेको विपी राजमार्ग अन्तर्गत खुर्कोट-नेपालथोक-कटुञ्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेशमा पनि सडकको अवस्था उस्तै छ। गुल्मीको छत्रकोट गाउँपालिका-३ काउलेमा असार २९ गते पहिरो जाँदा मदन भण्डारी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
यसअघि असार २८ गते रोल्पाको परिवर्तन गाउँपालिका-१ खोलाबाङमा पहिरो जाँदा घोरही-रुकुम शहीद मार्ग र अर्घाखाँचीको पाणिनी गाउँपालिका-२ ढुङ्ग्रेखोलामा पहिरो जाँदा सालझण्डी-ढोरपाटन सडक खण्ड पूर्णरूपमा बन्द भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
पाल्पाको तिनाउ गाउँपालिका-३ हेडबक्स नजिक सिद्धार्थ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।
कोशी प्रदेशको इलाम नगरपालिका-९ राजदुवालीमा असार २३ गतेदेखि परेको अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि त्यहाँ वैकल्पिक बाटो प्रयोग गरेर सवारी साधन चलाइएको छ।
मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका-५ बोखिममा असार १२ गते गएको बाढीका कारण बाटो एकतर्फी मात्र खुला गरिएको छ। उता गण्डकी प्रदेशको कास्की मादी गाउँपालिका-२ ज्याम्दुमा असार २७ गते गएको पहिरोका कारण पोखरा-ताङतिङ सडक खण्ड अहिलेसम्म पूर्ण रूपमा बन्द रहेको स्थानीय प्रशासनले जनाएको छ।
गृह मन्त्रालयको रियलटाइम मोडुलमा आधारित विपद् पोर्टलकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै सुदूरपश्चिमको कैलालीदेखि पूर्वको सुनसरीसम्म बाढी र सडक अवरोधका नयाँ घटना दर्ता भएका छन्।
असार २९ गते बिहान ३ः५० बजे कैलालीको कैलारी गाउँपालिका-५ मा बाढी आएको छ। यसैगरी असार २८ गते राति सुनसरीको इटहरी उपमहानगरपालिका-२ मा भारी वर्षा भएको थियो भने रुपन्देहीको सैनामैना-१० मा असार २८ गते साँझदेखि सडक बन्द छ।
पर्वतको जलजला गाउँपालिका-३ मा पनि असार २८ गते दिउँसो र राति गरी दुई पटक बाढी आएपछि त्यस क्षेत्रमा सचेत रहन आग्रह गरिएको छ। मुगुको छायाँनाथ रारा नगरपालिका-६ मा पनि असार २८ गते बिहानदेखि सडक अवरुद्ध छ।
प्रहरी तथा स्थानीय प्रशासनले आवश्यक कामबाहेक पहिरो जाने र नदी तटीय क्षेत्रमा यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेका छन्। अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहे पनि लगातारको वर्षाका कारण काममा बाधा पुगिरहेको सडक विभागका अधिकारीहरूले बताएका छन्।