काठमाडौं- देशभर यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा केही सुस्त देखिएको छ। चालु आर्थिक वर्ष २०८३ को असार २६ गतेसम्ममा देशभर कुल ४५.८१ प्रतिशतमात्रै रोपाइँ सकिएको छ।
कृषि विभागले सार्वजनिक गरेको प्रदेशस्तरको रोपाइँ सारांश विवरणअनुसार गत वर्ष सोही अवधिमा देशभर ५९.२८ प्रतिशत रोपाइँ भइसकेको थियो। गत वर्षको तुलनामा यस वर्ष करिब साढे १३ प्रतिशतले रोपाइँ कम भएको विभागको तथ्यांकले देखाएको छ।
कृषि विभागकाअनुसार नेपालमा कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ। जसमध्ये असार २६ गतेसम्म ६ लाख २७ हजार ५६६ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ।
प्रदेशगत रूपमा हेर्दा यस वर्ष सबैभन्दा बढी रोपाइँ गण्डकी प्रदेशमा भएको देखिएको छ भने सबैभन्दा कम कोशी प्रदेशमा भएको कृषि विभागको प्रतिवेदनमा उल्लेख छ।
गण्डकी प्रदेशमा ६५.९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ। त्यहाँ कुल ९३ हजार ६०६ हेक्टरमध्ये ६१ हजार ७२७ हेक्टरमा रोपाइँ भएको विभागको तथ्यांकमा उल्लेख छ।
यस्तै, लुम्बिनी प्रदेशमा ५९.६ प्रतिशत (१ लाख ७९ हजार ६३१ हेक्टर) र सुदूरपश्चिम प्रदेशमा ५७.९ प्रतिशत (८९ हजार ७४२ हेक्टर) क्षेत्रफलमा रोपाइँ भएको छ। सुदूरपश्चिमको तथ्याङ्क असार १९ गतेसम्मको मात्रै समावेश गरिएको विभागले जनाएको छ।
यसैगरी, वागमती प्रदेशमा ५७.१ प्रतिशत (६५ हजार ४४६ हेक्टर) रोपाइँ सकिएको छ भने कर्णाली प्रदेशमा ४०.५ प्रतिशत (१७ हजार ५४९ हेक्टर) क्षेत्रफलमा रोपाइँ भएको छ।
धानको मुख्य भण्डार मानिने मधेस र कोशी प्रदेशमा भने यसपालि रोपाइँको गति निकै ढिलो देखिएको छ। मधेस प्रदेशमा कुल ३ लाख ८५ हजार १३३ हेक्टर धान खेती हुने जमिनमध्ये ३२.८ प्रतिशत अर्थात १ लाख २६ हजार ४३९ हेक्टरमा मात्र रोपाइँ भएको छ।
यस्तै, कोशी प्रदेशमा ३१.५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ। कोशीमा २ लाख ७६ हजार ३८७ हेक्टर खेतीयोग्य जमिनमध्ये ८७ हजार ३३ हेक्टरमा मात्र रोपाइँ भएको विभागले जनाएको छ।
कृषि विभागको तथ्यांअनुसार गत वर्षको तुलनामा यस वर्ष सबैजसो प्रदेशमा रोपाइँको प्रतिशत घटेको छ। गत वर्ष यसै अवधिमा सुदूरपश्चिममा ९३.१० प्रतिशत रोपाइँ भइसकेकोमा यस वर्ष ५७.९ प्रतिशत मात्र भएको छ।
त्यस्तै, कर्णालीमा गत वर्ष ८३.२३ प्रतिशत रोपाइँ भएकोमा यसपालि ४०.५ प्रतिशत मात्रै सकिएको छ। वागमतीमा पनि गत वर्ष ७६.३१ प्रतिशत रोपाइँ भएकोमा यसपालि ५७.१ प्रतिशत मात्रै भएको विभागको तथ्यांकमा उल्लेख छ।