काठमाडौं- राहदानी विभागले राहदानीसम्बन्धी एक करोड नेपाली नागरिकको विवरण सुरक्षितरूपमा नयाँ प्रणालीमा स्थानान्तरण भएको जनाकारी गराएको छ।
विभागले नेपालमा अहिलेसम्मकै ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको विज्ञप्तिमार्फत जानकारी गराएको छ।
राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरणका लागि २५ र २६ गते सबै सेवा बन्द गरिएको थियो। विज्ञप्तीमा भनिएको छ, 'बृहत् सूचना प्रविधि प्रणालीको कार्यान्वयन तथा गो लाइभ भएपछि सुरूवातका दिनहरुमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता, राहदानी वितरणमा सामान्य ढिलाइ देखिनु स्वाभाविक हो।'
राहदानी विभागका अनुसार यस्ता सम्भावित अवस्थाको पूर्वतयारीस्वरूप विभागका प्राविधिक टोली एवं कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ २४ घण्टा नै तयारी अवस्थामा रही प्रणालीको निरन्तर अनुगमन, परीक्षण तथा सुधारमा खटिएका छन्। यस किसिमका समस्याहरूको शीघ्र तथा दीर्घकालीन समाधान गर्न विभाग पूर्णरूपमा सक्षम र प्रतिबद्ध रहेको जनाइएको छ।
विभागले नयाँ प्रणालीको सुरुवाती चरणमा, राहदानी अत्यावश्यक भएका सेवाग्राहीहरूले मात्र आवेदन गर्नसमेत आग्रह गरेको छ। २०७८ मंसिर १ गतेबाट सुरुभएको विद्युतीय राहदानी वितरणमा यस अघि फ्रान्सेली कम्पनी ओबरथर (हाल अर्को कम्पनीसँग मर्ज तथा खरिद बिक्री भएर 'आईडीईएमआईए')बाट गर्दै आएको थियो।
उक्त कम्पनीबाट विभागले ५८ लाख राहदानी वितरण गरेको थियो। अब प्रतिनस्पर्धाबाट छानिएको जर्मन कम्पनीबाट विभागले ६४ लाख राहदानी वितरणको काम सुरु गरेको हो।
'प्याकेज १' अन्तर्गतको स्टिम इन्क्लुडिङ प्रि-इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरीको कामका लागि जर्मन कम्पनी मुलबाउर र बुकलेट, पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङको कामका लागि जर्मन कम्पनी भेरिडोसबाट हुने छ।
विभागका अनुसार राहदानीमा यसअघि भएका कमजोरीसमेत सुधार हुने छ। विभागका अनुसार राहदानीको कभरको रङ उड्ने समस्या नयाँ कम्पनीबाट छपाइ भएपछि अन्त्य हुनेछ।
यसैगरी राहदानीको पेपरमा यसअघि २० प्रतिशतमात्रै कटन प्रयोग गरिएकोमा एसपटक भने विश्वका अधिकांश देशको राहदानीमा प्रयोग हुने ५० प्रतिशत नै कटन प्रयोग हुने विभागको भनाइ छ। यसअघि ३४ पृष्ठको प्रतिराहदानी १०.१४ डलरमा छापिएपनि अब ८.६२ डलर खर्च हुने छ।