काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार (असार २८) र सोमबार (असार २९) देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।
प्राधिकरणले शनिबार जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा अति भारी वर्षा हुन सक्ने जनाइएको छ।
यस अवधिमा अचानक बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम उच्च रहने भएकाले नागरिकलाई विशेष सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।
विशेषगरी खोला, खहरे र नदी किनार हुँदै यात्रा गर्ने, पहिरोको जोखिम भएका स्थान तथा नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न पनि भनिएको छ।
पूर्वतयारी तथा उद्धारमा संलग्न साझेदार संस्थाहरूलाई जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर तयारी अवस्थामा रहन अनुरोध गरिएको छ।
प्राधिकरणले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता माग्न १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ हटलाइन नम्बर प्रयोग गर्न आग्रह गरेको छ। साथै, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा पछ्याउन पनि सबैलाई अनुरोध गरिएको छ।