शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

गणेश नेपालीको निधनपछि सरकारको विरोध गर्दै सडकमा नागरिक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २६ २०८३
गणेश नेपालीको निधनपछि सरकारको विरोध गर्दै सडकमा नागरिक

‘मुलुकमा महँगी र बेरोजगारी चरम सीमामा पुगेको छ तर सरकार युवाहरूलाई राहत दिनुको साटो जरिवाना र करको नाममा आतंकित पारिरहेको छ। यो राज्यको निरङ्कुशता र संवेदनहीनताको पराकाष्ठा हो।’

काठमाडौं- त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएसँगै नागरिकहरु सरकारको विरोधमा उत्रिएका छन्।

बिहीबार राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका नेपालीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

काठमाडौं महानगरपालिकाका नगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको भन्दै ‘ह्विल लक’ गर्दा असन्तुष्ट बनेका उनले आत्मदाह गरेका थिए। नेपालीको निधनपछि आक्रोशित बनेका सर्वसाधारण, चालक तथा राइडरहरूले शुक्रबार माइतीघर मण्डलमा भेला भइ सरकार र स्थानीय प्रशासनविरुद्ध प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले राज्य संयन्त्र गरिब र श्रमजीवी वर्गप्रति संवेदनहीन बनेको आरोप लगाएका छन्। सो क्रममा उनीहरूले अव्यवस्थित पार्किङ प्रणाली, चर्को जरिवाना र राइडरहरूको हकहितका लागि स्पष्ट नीति नहुँदा यस्ता दुःखद् घटनाहरू दोहोरिएको बताए।

प्रदर्शनमा सहभागीहरूका अनुसार घटनाका बखत महानगरका कर्मचारीहरू कार्यक्षेत्रमै उपस्थित भएपनि नेपालीलाई बचाउन पर्याप्त पहल नगरेको बताएका छन्। उनीहरूले सो घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

aandolan (2).jpg

विशेषगरी राइड सेयरिङमा आवद्ध युवाहरूले सरकारले ट्याक्स मात्र असुल्ने तर श्रमिकको सुरक्षा र व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरे। यातायात विभागले राइड सेयरिङलाई कानूनी दायरामा नल्याउँदा वैज्ञानिक भाडादर कायम हुन नसकेको र कम्पनीहरूले मनपरी कमिसन लिइरहेको उनीहरूको भनाइ छ।

उनीहरुले भने, ‘मुलुकमा महँगी र बेरोजगारी चरम सीमामा पुगेको छ तर सरकार युवाहरूलाई राहत दिनुको साटो जरिवाना र करको नाममा आतंकित पारिरहेको छ। यो राज्यको निरङ्कुशता र संवेदनहीनताको पराकाष्ठा हो।’

प्रदर्शनकारीहरूले अव्यवहारिक जरिवाना खारेज गर्न, काठमाडौंभित्र पर्याप्त पार्किङको व्यवस्था गर्न र राइडरहरूका लागि स्पष्ट कार्यविधि निर्माण गर्न माग गरेका छन्। उनीहरूले राज्यले नागरिकको जीवन रक्षाको ग्यारेन्टी नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्।


प्रकाशित : शुक्रबार, असार २६ २०८३१५:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend