काठमाडौं- आर्थिक वर्षको अन्तिम समयमा आएर विकासे पैसा खर्च गर्ने परम्परा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पनि निरन्तरता दिएको छ।
सरकारले अन्तिम समयमा आएर खर्च हुने परम्परा कम गर्न आर्थिक वर्ष सकिनुको एक हप्ताअगाडि बजेट खर्च गर्न नपाइने व्यवस्था गरेको छ। लेखा नियन्त्रकको कार्यालयले बिहीबारबाटै सर्कुलर गरेर बजेट खर्च गर्न रोक लगाइसकेको छ। आजबाट सरकारी खाता एक हप्ताका लागि बन्द हुन्छ।
बालेन्द्र सकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समेत अन्तिम समय अर्थात असारमा मात्र ११.१३ प्रतिशत बजेट खर्च गरेका छन्। जेठ मसान्तसम्ममा पूरै बजेटको ६९.५६ प्रतिशत बजेट खर्च भएकोमा आर्थिक वर्षको अन्तिम खर्च गर्ने दिनसम्म ७९.०४ प्रतिशत बजेट खर्च भएको छ।
यो एक महिनाको अवधिमा मात्र २ खर्ब १८ अर्ब ४८ करोड ३० लाख रुपैयाँ बजेट खर्च भएको नियन्त्रकको कार्यालयले जनाएको छ।
अन्तिम समयमा खर्च हुने पुँजीगततर्फको बजेट हेर्ने हो भने त झनै भयावह देखिन्छ। एक महिनामा मात्र करिब २१ प्रतिशत पुँजीगत खर्च भएको छ। जेठ मसान्तसम्ममा पुँजीगत खर्च १ खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख (२३.५३ प्रतिशत) रहेकोमा एक महिनामा मात्र पुँजीगत ४८ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ (२०.९८ प्रतिशत) खर्च भएको छ।
चालुतर्फ भने केही कम खर्च भएको छ। चालुतर्फ एक महिनामा ११.३९ प्रतिशत बजेट खर्च भएको नियन्त्रकको कार्यालयले जनाएको छ। जेठ मसान्तसम्ममा चालुतर्फ ९ खर्ब ८ अर्ब २६ करोड ८१ लाख रुपैयाँ (७६.९१ प्रतिशत) खर्च भएकोमा असारमा मात्र १ खर्ब ३४ अर्ब ५८ करोड ८ लाख रुपैयाँ खर्च भएको छ।
सरकारी खाता चल्ने अन्तिम दिनमा बजेटको ठूलो खर्च भएको छ। बिहीबार मात्र एकैदिन सरकारी खाताबाट ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ। जसमा पुँजीगत १८ अर्ब ३९ करोड ७ लाख रुपैयाँ छ भने चालुतर्फ १२ अर्ब ४२ करोड ५ लाख रुपैयाँ खर्च भएको छ। वित्तीय व्यवस्थापनतर्फ भने एकै दिनमा २ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ रहेको छ।
तीन जना अर्थमन्त्रीले बजेट खर्च गर्दासमेत चालु आर्थिक वर्ष २०८२/८३ मा जम्मा ७९.०४ प्रतिशत मात्र बजेट खर्च भएको छ।
तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँको बजेट ल्याएका थिए। जुन बजेट पूर्वअर्थमन्त्री रामेश्वर खनाल र त्यसपछि हालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समेत बजेट खर्च गरे। तर पनि बजेट खर्च भने १२ खर्ब १२ अर्ब ८ करोड ८७ लाख रुपैयाँ मात्र रहेको छ।
चालु आर्थिक वर्षमा भने पुँजीगततर्फ भने ४४.५१ प्रतिशतमात्र खर्च भएको छ। सरकारले चालु आर्थिक वर्षका लागि कुल ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा १ खर्ब ८१ अर्ब ५६ करोड ४१ लाख रुपैयाँ मात्र खर्च गरेको छ।
यता चालुतर्फ भने केही बढी खर्च गरेको देखिएको छ। चालुतर्फ आर्थिक वर्षमा ८८.३ प्रतिशत बजेट खर्च भएको नियन्त्रकको कार्यालयले जनाएको छ।
चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकोमा १० खर्ब ४२ अर्ब ८४ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ।
वित्तीय व्यवस्थापन भने ९०.८ प्रतिशत रहेको छ। वित्तीय व्यवस्थापनको लक्ष्य ३ खर्ब ७५ खर्ब २४ करोड २० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्षको अन्तिमसम्ममा ३ खर्ब ४० अर्ब ७२ करोड ३९ लाख रुपैयाँ हरेको छ।