शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

अमेरिका-इरान युद्ध : दुई दिनमै १७० सैन्य लक्ष्यमा अमेरिकी हमला, खाडीभर अमेरिकी अखडामा इरानी मिसाइल प्रहार

शुक्रबार, असार २६ २०८३
अमेरिका-इरान युद्ध : दुई दिनमै १७० सैन्य लक्ष्यमा अमेरिकी हमला, खाडीभर अमेरिकी अखडामा इरानी मिसाइल प्रहार

पछिल्लो ४८ घण्टामा अमेरिकी सेनाले इरानका १७० भन्दा बढी सैन्य लक्ष्यमा हवाई तथा क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ भने त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

काठमाडौं- अमेरिका र इरानबीच केही समयअघि भएको युद्धविराम प्रभावहीन बन्दै गएपछि मध्यपूर्वमा फेरि व्यापक सैन्य तनाव चुलिएको छ।

पछिल्लो ४८ घण्टामा अमेरिकी सेनाले इरानका १७० भन्दा बढी सैन्य लक्ष्यमा हवाई तथा क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ भने त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ। दुवै पक्षले एकअर्कामाथि सैन्य दबाब बढाइरहेका बेला होर्मुज स्ट्रेटदेखि आणविक केन्द्र आसपाससम्म तनाव फैलिएको छ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टीकम) का अनुसार पछिल्ला दुई दिनमा इरानका वायु प्रतिरक्षा प्रणाली, ड्रोन भण्डारण केन्द्र, तटीय सैन्य संरचना, मिसाइल प्रक्षेपण स्थल तथा अन्य रणनीतिक सैन्य पूर्वाधार गरी १७० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको हो। अमेरिकी पक्षले यी आक्रमणहरू इरानको आक्रामक सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले गरिएको दाबी गरेको छ।

यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बहराइनस्थित अमेरिकी फिफ्थ फ्लीट मुख्यालय, कुवेतको अली अल-सलेम एयर बेससहित खाडी क्षेत्रमा रहेका ८५ अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। अमेरिकी अधिकारीहरूले अधिकांश आक्रमण प्रतिरक्षा प्रणालीमार्फत विफल पारिएको र ठूलो क्षति हुन नदिइएको बताएका छन्। यद्यपि क्षेत्रीय तनाव थप चर्किएको उनीहरूले स्वीकार गरेका छन्।

इरानले अमेरिकी सैन्य कारबाही जारी रहे विश्वको सबैभन्दा व्यस्त तेल ढुवानी मार्गमध्ये एक होर्मुज स्ट्रेटको अवस्था सामान्य रहन नसक्ने चेतावनी दिएको छ। इरानी सञ्चारमाध्यमहरूका अनुसार होर्मुजमा अस्थिरता कायम रहे त्यस मार्गमा निर्भर मुलुकहरूले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने इरानको भनाइ छ। उता अमेरिकी सेनाले भने होर्मुज स्ट्रेटमा इरानको मात्र नियन्त्रण नरहेको दाबी गर्दै त्यहाँबाट हालसम्म ८०० भन्दा बढी व्यापारिक जहाज सुरक्षित रूपमा आवतजावत गराइएको जनाएको छ।

यसैबीच अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उत्तरी इरानमा चीन र रुससँग जोडिएको एक रणनीतिक रेलवे पुलमा अमेरिकी क्रुज मिसाइल प्रहार भएको जनाएका छन्। दक्षिणी इरानको बुशहर आणविक केन्द्र आसपासका क्षेत्रमा पनि विष्फोटका आवाज सुनिएको बताइएको छ। यद्यपि अमेरिकी अधिकारीहरूले ती सबै विष्फोट आफ्नो नयाँ सैन्य कारबाहीसँग सम्बन्धित नभएको स्पष्ट पारेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो शिखर सम्मेलनका क्रममा इरानसँग भएको युद्धविराम प्रभावहीन भइसकेको र अब तेहरानसँग कुनै नयाँ सम्झौता नगर्ने बताएका छन्। उनले इरानले सैन्य गतिविधि नरोके अझ कडा जवाफ दिइने चेतावनी पनि दिएका छन्। तर अमेरिकी प्रशासनका अन्य अधिकारीहरूले भने इरानसँग प्राविधिक तहमा सम्पर्क जारी रहेको र कतार, पाकिस्तान तथा अन्य क्षेत्रीय मुलुकको पहलमा कूटनीतिक समाधान खोज्ने प्रयास भइरहेको बताएका छन्।

इरानका विदेशमन्त्री अब्बास अराघचीले भने धम्की र सैन्य दबाबका बीच अमेरिकासँग कुनै वार्ता सम्भव नरहेको स्पष्ट पारेका छन्। उनले अमेरिकाले विगतका अन्तर्राष्ट्रिय सम्झौताको सम्मान नगरेसम्म नयाँ सहमतिको आधार नबन्ने बताएका छन्।

तनावकै बीच इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको बिहीबार मशहदस्थित इमाम रजा दरगाहमा अन्त्येष्टि गरिएको छ। इरानी सञ्चारमाध्यमहरूले अन्तिम श्रद्धाञ्जली कार्यक्रममा डेढ करोडभन्दा बढी मानिस सहभागी भएको दाबी गरेका छन्। सात दिनसम्म सञ्चालन गरिएको अन्तिम बिदाइ कार्यक्रममा अमेरिकाविरुद्ध नाराबाजीसमेत भएको जनाइएको छ।

इरानले खाडी क्षेत्रमा गरेको मिसाइल आक्रमणपछि कतार, संयुक्त अरब इमिरेट्स, कुवेत र बहराइनले त्यसको कडा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेका छन्। जोर्डनले आफ्नो आकाशमा प्रवेश गरेका इरानी मिसाइलहरू अवरोध गरी नष्ट गरेको जनाएको छ। उता इजरायलले पनि आवश्यक परे इरानविरुद्ध थप सैन्य कारबाही गर्न तयार रहेको चेतावनी दिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पछिल्ला घटनाक्रमले अमेरिका-इरानबीचको द्वन्द्व फेरि पूर्ण युद्धतर्फ उन्मुख भएको संकेत देखिएको छ। यद्यपि कतार, पाकिस्तान, ओमानलगायत मुलुकहरूले तनाव कम गराउन कूटनीतिक पहल जारी राखेका छन् भने संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन र वार्तामार्फत समाधान खोज्न आग्रह गरिरहेका छन्।


प्रकाशित : शुक्रबार, असार २६ २०८३१०:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend