मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

ईभी लहरमा दुई भारतीय सवारी उत्पादक : टाटा मोटर्सको आक्रामक बजारमा जोड, महिन्द्रा प्रिमियमको लयमा

मंगलबार, असार ३० २०८३
ईभी लहरमा दुई भारतीय सवारी उत्पादक : टाटा मोटर्सको आक्रामक बजारमा जोड, महिन्द्रा प्रिमियमको लयमा

यी दुवै कम्पनी महिन्द्रा र टाटा मोटर्सले भारतको विस्तारित विद्युतीय सवारी (ईभी) बजारमा आफ्नो पकड बलियो बनाउन पूर्ण रूपमा फरक रणनीतिहरू अपनाइरहेका छन्।

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनीहरु पनि विद्धुनीय सवारी उत्पादनमा ठूलो लगानीसहित आक्रामक बजार विस्तारमा लागेको छन्। विशेषगरी महिन्द्रा र टाटा मोटर्सले विद्युतीय सवारी उत्पादनमा उल्लेख्य लगानी गरिरहेका छन्।

तर यी दुवै कम्पनी महिन्द्रा र टाटा मोटर्सले भारतको विस्तारित विद्युतीय सवारी (ईभी) बजारमा आफ्नो पकड बलियो बनाउन पूर्ण रूपमा फरक रणनीतिहरू अपनाइरहेका छन्। महिन्द्राले प्रिमियम ई-एसयूभी र नाफामा ध्यान केन्द्रित गरिरहेको छ भने टाटा मोटर्सले धेरै उत्पादन र पावरट्रेनसँगै केही प्रिमियम विद्युतीय सवारी बनाउने रणनीतिमार्फत आफ्नो उत्पादन बढाउनमा जोड दिइरहेको छ।

यी दुई कार उत्पादकको आर्थिक वर्ष २०२६ (एफवाई२६) को वार्षिक प्रतिवेदन र अन्य लगानी विवरणहरूको समीक्षाले आगामी वर्षहरूमा भारतीय ईभी बजार कसरी अगाडि बढ्छ भन्ने कुरामा दुवै कम्पनीले मौलिक रूपमा फरक बाजी लगाएको देखाउँछ। महिन्द्राले आगामी पाँच वर्षमा आफ्नो ईभी उत्पादन तथा बिक्री १८ देखि २० प्रतिशत हिस्सा विद्युतीय एसयूभीले ओगट्ने प्रक्षेपण गरेको छ।

यता टाटाले भने यो दशकको अन्त्य अर्थात् २०३० सम्ममा आफ्नो प्यासेन्जर कार सेगमेन्टको बिक्रीमा करिब ३० प्रतिशत हिस्सा विद्युतीय करको पुऱ्याउने लक्ष्य राखेको छ। हाल भारतीय बजारमा टाटा मोटर्स सबैभन्दा धेरै विद्युतीय कार बिक्री गर्ने कम्पनीको रुपमा रहेको छ।

यो भिन्नता टाटा मोटर्स र महिन्द्राले सार्वजनिक गरेर वित्तीय विवरणहरूमा पनि स्पष्ट देखिन्छ। महिन्द्राको ई एसयूभी आर्थिक वर्ष २०२६ मा ५० हजार ८ सय ३५ वटा सवारीसाधन बिक्री गरी १५ हजार ८९ करोड भारतीय रुपैयाँ आम्दानी गरेकोमा ईभीको हिस्सा ३४.८ प्रतिशत हहेको कम्पनीले जनाएको छ। यसका साथै कम्पनीले ९.१ प्रतिशत नाफा आर्जन गर्न सफल भएको थियो। कम्पनीले राजस्व बजार हिस्साका आधारमा आफू भारतको नम्बर १ ई एसयूभी कम्पनीको रूपमा उभिएको पनि बताएको छ।

यसको तुलनामा टाटा मोटर्सको विद्युतीय प्यासेन्जर कार व्यवसायबाट आर्थिक वर्ष २०२६ मा १३ हजार ४ सय १० करोड भारतीय रुपैयाँ राजस्व संकलन गरेको हो। यो अघिल्लो वर्षको तुलनामा ६३.८ प्रतिशत बढी भएको द इकोनोमिक टाइम्सले लेखेको छ।

यस अवधिमा टाटा मोटर्सको बिक्री परिमाण ४३ प्रतिशतले बढेर ९२ हजार १ सय ७९ वटा पुगेको छ। यो संख्याका आधारमा भारतकै सबैभन्दा ठूलो विद्युतीय कार बिक्रेता कम्पनीका रुपमा उभ्याएको छ। महिन्द्राको छुट्टै ईभी विवरण जस्तो नभइ टाटाले आफ्नो समग्र प्यासेन्जर कार सञ्चालनकै हिस्साका रूपमा ईभीको नाफा समेट्ने गरेको छ।

भारतमा विद्युतीय कार प्रति उपभोक्ता पनि आकर्षित हुन थालेपछि सवारी उत्पादक कम्पनीहरुले उत्पादन तथा प्राथमिकताका साथ नयाँ मोडलका कार ल्याउने योजनाहरु सार्वजनिक गर्न थालेका छन्। ईभीको लहरमा सवार हुन महिन्द्राले प्रिमियम बाटो रोजेको र टाटा मोटर्सले स्केलमा जोड दिएर यी दुई कम्पनीले फरक रणनीति अपनाएको र दुवैले उच्च विद्युतीकरणबाट लाभ उठाउने भारतीय अटोमोबाइल विश्लेषकहरूको भनाइ छ।

महिन्द्राको रणनीति 'बर्न-इलेक्ट्रिक' (सुरुदेखि नै ईभीका लागि मात्र डिजाइन गरिएका) ई एसयूभी, प्रिमियम बजार र प्लेटफर्म-आधारित दक्षतामा केन्द्रित रहेको देखिन्छ। कम्पनीले आर्थिक वर्ष २०३१ सम्ममा ६ वटा बीईभी अर्थात् बोर्न-इलेक्ट्रिक ई-एसयूभीहरू बजारमा ल्याउने योजना बनाएको छ। यसको मतलब महिन्द्राको रोडम्यापले आर्थिक वर्ष २०२६ को लन्च बेसभन्दा बाहेक थप छ वटा नयाँ ई-एसयूभीहरू बजारमा आउने छन्। प्रतिस्पर्धा तीव्र बन्दै जाँदा उच्च मूल्यका उत्पादनहरू र प्लेटफर्मको अर्थतन्त्रले नाफालाई कायम राख्न मद्दत गर्ने महिन्द्राको बुझाइ छ।

यता टाटाले भने ईभी बजार विस्तार गर्ने उद्देश्यले रणनीति बनाइ रहेको छ। केही साताअघि मुम्बईमा विद्युतीय सियरा एसयूभी सार्वजनिक गर्नुअघि आयोजित मिडिया ब्रिफिङमा टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका प्रबन्ध निर्देशक शैलेश चन्द्रले कम्पनीले आफ्नो सफलतालाई ग्राहकबाट आएको अभूतपूर्व ईभी एडप्सनका आधारमा मापन गर्ने बताएका थिए। साथै कम्पनीको आयमा बजार हिस्सा यसको बिक्री परिमाणको हिस्साभन्दा तीव्र गतिमा बढिरहेको उनको भनाइ थियो। बजार अझ बढी प्रिमियम हुँदै जाँदा टाटाको पोर्टफोलियो रणनीति बजारको औसत मूल्य बिन्दुमा आउने परिवर्तनअनुसार विकसित भइरहने छ। यसले गर्दा माग उच्च मूल्यका सवारी साधनतर्फ मोडिएपछि आयको वृद्धि बिक्री परिमाणको वृद्धिको तुलनामा बढी हुने  शैलेश चन्द्रको भनाइ थियो।

टाटा र महिन्द्राले अलग अलग रणनीति अवलम्बन गरेकाले कुन रणनीतिले सेयरधनीहरूका लागि बढी मूल्य सिर्जना गर्नेछ भन्ने कुरामा विश्लेषकहरू विभाजित देखिएका छन्। ‘यदि विद्युतीकरणले योभन्दा तीव्र गति लियो भने टाटाले आफ्नो फराकिलो पोर्टफोलियो र उच्च बिक्री परिमाणको सम्भावनाबाट लाभ उठाउने सम्भावना बढी छ,’ एक विश्लेषकले भने। यता अर्का विश्लेषकले भने, ‘महिन्द्राको ईभी लाइन-अप बोर्न-इलेक्ट्रिक प्लेटफर्ममा आधारित भएकाले यसले प्रतिस्पर्धाको सामना अझ राम्रोसँग गर्न सक्नेछ।‘

भारतमा टाटा महिन्द्रसँगै हुन्डाई किया भिनफास्टसहित प्रिमियम कार उत्पादकले पनि विद्युतीय कार उत्पादन तथा बिक्री थालिसकेका छन्। टेस्लाले भारतमा आयात गरेर विद्युतीय कार बिक्री गरिरहेको छ भने टोयोटा फक्सवागनलगात कम्पनीहरु विद्युतीय कार बिक्री थाल्ने तयारीमा छन्। पछिल्लो केही वर्षयता सुस्त रहेको भारतीय बजारमा अब भने विद्युतीय सवारीको बिक्री तथा उत्पादन उल्लेख्य रुपमा बढ्ने देखिएको छ।


प्रकाशित : मंगलबार, असार ३० २०८३११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend