काठमाडौं- चिनियाँ बजारमा ए १० र नेपाललगायतका अन्तर्राष्ट्रिय बजारमा चिनिने लिपमोटर बी ०३ विद्युतीय एसयूभीलाई दैनिक उपयोगिता र आधुनिक इलेक्ट्रिक कार्यक्षमताको उत्कृष्ट संयोजन गर्ने गरी डिजाइन गरिएको छ। पहिलो पटक ग्वान्झाउ अटो शोमा सार्वजनिक गरिएको यो गाडी नेक्स्ट जेनेरेसन आर्किटेक्चरमा आधारित छ।
जसमा १०० किलोवाट पिक मोटरद्वारा सञ्चालित फ्रन्ट-ह्विल-ड्राइभ प्रणाली रहेको छ, जसले २०० एनएम टर्क उत्पन्न गर्दछ। यस गाडीमा १८ इन्चको एलोय ह्विल, तथा १४.६ इन्चको २.५के एचडी टचस्क्रिन, लेभल २ एडास ड्राइभर असिस्टेन्स र ५१० लिटरको फराकिलो बुट स्पेस जस्ता प्रिमियम सुविधाहरू रहेका छन ।
नेपालका लागि लिपमोटर गाडीको आधिकारिक आयातकर्ता सांग्रिला मोटर्स प्रालिले पहिलो लिपमोटर बी०३ चीनबाट आधिकारिक रूपमा नेपालतर्फ आउने क्रममा रहेको छ। यो मोडल दुईवटा भेरियन्टमा उपलब्ध हुने अपेक्षा गरिएको छ। जसमा फरक-फरक ब्याट्री क्षमता र सुविधाहरूमा केही भिन्नता हुनेछन्।
बी ०३ को चिनियाँ संस्करण ए १० ले चीनमा अत्यधिक सकारात्मक प्रतिक्रिया पाएको छ जसका कारण यस वर्षको जुन महिनामा मात्र ब्रान्डको बिक्री संख्या ९३ हजार ३ सय ७६ वटा पुगेको छ। यो गाडी नेपालको किफायती एसयूभी क्षेत्रमा पनि एक बलियो प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ।
लिपमोटर स्टेलेन्टिस समूह अन्तर्गतको ईभी ब्रान्ड हो जसको मातहतमा मासेराती, जिप, प्युजोलगायत १४ वटा अग्रणी अटोमोबाइल ब्रान्डहरू रहेका छन्।
चीनको अग्रणी ईभी स्टार्टअपका रूपमा बलियो बजार हिस्सा ओगट्न सफल लिपमोटरको यो सफलता यसको १५ लाखभन्दा बढी विश्वव्यापी बिक्री गाडीहरूले प्रमाणित गर्दछ। विश्वका ४० भन्दा बढी देशहरूमा फैलिएको १ हजार ७ सयभन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरूको वृहत् नेटवर्कका कारण लिपमोटरका ग्राहकहरूले सदैव ढुक्क भइ यात्रा गर्न सक्नेछन्।