काठमाडौं- राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको 'नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ च' जारी गर्ने भएको छ।
राष्ट्र बैंकको १ वर्ष अवधिको यस ऋणपत्रका लागि इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई बोलकबोलमा सहभागी हुन आह्वान गरेको हो।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आगामी २०८३ असार २४ गते मध्याह्न १२ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र बोलकबोल गर्न सक्नेछन्।
यस ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ भने बहुव्याजदरमा पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न पाउनेछन्।
ऋणपत्रको साँवा भुक्तानी २०८४ असार २४ गते हुनेछ भने यसको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने राष्ट्र बैंकले जनाएको छ। यो ऋणपत्रलाई राष्ट्र बैंक तथा अन्य बैंक र वित्तीय संस्थाहरूमा धितोको रूपमा प्रयोग गर्न सकिने सुविधा रहेको छ।
आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी एकल ब्याजदर कायम गरिनेछ र समान ब्याजदर परेमा समानुपातिक रूपमा बाँडफाँट गरिनेछ।
स्वीकृत बोल रकम निष्कासनकै मितिमा सम्बन्धित संस्थाको खाताबाट खर्च गरी जम्मा गरिने भएकाले खातामा पर्याप्त मौज्दात हुनुपर्नेछ, अन्यथा स्वीकृत रकम रद्द गरी साढे २ प्रतिशत हर्जानासहित ६ महिनासम्मका लागि खुला बजार कारोबारमा सहभागी हुन बन्देज लगाइने व्यवस्था छ।
यस ऋणपत्रको रकमलाई बैंकहरूले अनिवार्य नगद मौज्दात मा गणना गर्न नपाए पनि वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न पाउनेछन्।