मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सुस्ताएको घरजग्गा कारोबारमा देखियो सुधार, तेस्रो त्रैमासमा १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँको कारोबार

मंगलबार, असार २३ २०८३
सुस्ताएको घरजग्गा कारोबारमा देखियो सुधार, तेस्रो त्रैमासमा १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँको कारोबार

प्रादेशिक रूपमा हेर्दा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या सबैभन्दा धेरै ३३.०१ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा ४.७९ प्रतिशतले घटेको छ।

काठमाडौं- आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा घरजग्गा व्यवसायमा सुधार आएको छ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष मन्दीमा रहेको यो क्षेत्रमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा कारोबार संख्या, क्षेत्रफल र मूल्य तीनै सूचकमा वृद्धि देखिएको हो।  

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो कारोबार ४.५२ प्रतिशतले घटेको थियो। 

समीक्षा अवधिमा कुल १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार (टर्नओभर) भएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको १००.०७ अर्बको तुलनामा  बढी हो। 

कारोबार बढेसँगै राजस्व संकलनमा २३.७२ प्रतिशत र पुँजीगत लाभकर संकलनमा ३१.४२ प्रतिशतको वृद्धि भएको छ।  बैंक तथा वित्तीय संस्थाहरूबाट यस क्षेत्रमा प्रवाह हुने कर्जा (आवासीय घरजग्गा कर्जासहित) ५.५५ प्रतिशतले बढेको छ।  

प्रादेशिक रूपमा हेर्दा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या सबैभन्दा धेरै ३३.०१ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा ४.७९ प्रतिशतले घटेको छ। 

कारोबार भएको कुल मूल्यका आधारमा पनि बागमती प्रदेश १३१.५२ प्रतिशतको वृद्धिसहित अगाडी छ भने मधेश प्रदेशमा सबैभन्दा कम २२.६७ प्रतिशतको वृद्धि भएको छ। 

क्षेत्रफलका आधारमा भने गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४.८४ प्रतिशतको वृद्धि देखिएको छ। सातै प्रदेशमा उपभोक्ताहरूले २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी रोजेका छन्।

महानगरमा काठमाडौं र देशका ६ वटै महानगरपालिकाहरूमा घरजग्गाको कारोबार फस्टाएको छ। काठमाडौै महानगरपालिकामा कुल कारोबार संख्या १०८.४२ प्रतिशत, कुल क्षेत्रफल ११९.८९ प्रतिशत र कारोबारको कुल मूल्य २२३.१२ प्रतिशतले बढेर सबै महानगरहरूभन्दा अगाडी छ।

काठमाडौंपछि पोखरा र ललितपुर महानगरमा पनि तीव्र सुधार देखिएको छ।  उप-महानगरपालिकातर्फ कलैया बाहेक अन्य सबै क्षेत्रमा कारोबार संख्या बढेको छ।  बुटवल उप-महानगरपालिकामा सबैभन्दा धेरै ५६.७९ प्रतिशतले कारोबार बढेको छ।

कुल मूल्यका आधारमा भने तुलसीपुर उप-महानगरपालिकाले सबैभन्दा धेरै १३४.४६ प्रतिशतको वृद्धि हासिल गरेको छ, जहाँ कारोबार भएको क्षेत्रफल पनि सबैभन्दा धेरै बढेको छ। अर्कोतर्फ, नेपालगञ्ज उप-महानगरपालिकामा कारोबार भएको कुल क्षेत्रफलमा ६८.२९ प्रतिशतको ठूलो गिरावट आएको छ। 


प्रकाशित : मंगलबार, असार २३ २०८३११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend