मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै, बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २३ २०८३
राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै,  बोलकबोलको माध्यमबाट ब्याजदर  निर्धारण हुने

यस ऋणपत्रको बोलकबोल आजै अर्थात् २०८३ असार २३ गते मध्याह्न १२‍ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत हुने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्रको निष्कासन पनि आजै गरिनेछ भने यसको साँवा भुक्तानी आगामी २०८४ असार २३ गते हुनेछ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको 'नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ङ' जारी गर्ने भएको छ। 

बैंकको मौद्रिक व्यवस्थापन विभागले एक वर्ष अवधिको लागि यो ऋणपत्र निष्कासन गर्न लागेको हो। 

यस ऋणपत्रको बोलकबोल आजै अर्थात् २०८३ असार २३ गते मध्याह्न १२‍ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत हुने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्रको निष्कासन पनि आजै गरिनेछ भने यसको साँवा भुक्तानी आगामी २०८४ असार २३ गते हुनेछ।  

ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ, जसको भुक्तानी अर्धवार्षिक रूपमा गरिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ। इच्छुक खरिदकर्ताले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन्। यो बोलकबोल एकल वा बहुव्याजदर दुवै प्रक्रियाबाट गर्न सकिने व्यवस्था छ।  

यस ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन्। सहभागीहरूले बोलकबोल गर्दा कबोल गर्न चाहेको रकम र ब्याजदरको दशमलव पछि ४ अंकसम्म उल्लेख गर्नुपर्नेछ।  

प्राप्त बोलकबोलहरूलाई सानोदेखि ठूलो ब्याजदरको क्रममा राखी खुला बजार कारोबार सञ्चालन समितिले निर्धारण गरेको विन्दुको ब्याजदरलाई एकल ब्याजदर कायम गरिनेछ। सोही एकल ब्याजदर वा सोभन्दा कम बोल गर्नेहरूलाई ऋणपत्र बिक्री गरिनेछ। समान ब्याजदर पर्ने बोलवालाहरूको हकमा रकम समानुपातिक रूप (प्रो-राटा बेसिस) मा बाँडफाँट गरिने बैंकले जनाएको छ।  स्वीकृत बोल रकम निष्कासनकै दिन सम्बन्धित बैंकको राष्ट्र बैंकमा रहेको खाता खर्च गरी जम्मा गरिनेछ। 

यदि खातामा पर्याप्त मौज्दात नभएमा उक्त बोल रद्द गरी २.५० प्रतिशत हर्जाना सहित ६ महिनासम्म खुला बजार कारोबार र ब्याजदर करिडोरका कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने कडा नियम राखिएको छ।  यो ऋणपत्र परिपक्व हुनु अगावै रकम फिर्ता नहुने र यसलाई राष्ट्र बैंक वा अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिनेछ। स्वीकृत बोल रकमलाई बैंकहरूले अनिवार्य नगद मौज्दात मा गणना गर्न पाउने छैनन्, तर वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न पाउने सुविधा दिइएको छ।


प्रकाशित : मंगलबार, असार २३ २०८३१०:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend