काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथामा बढ्दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानूनी व्यवस्था ल्याउने तयारी गरेको जानकारी दिएका छन्।
सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रायलगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने तयारी गरिएको बताएका हुन्।
उनले पर्यटनसम्बन्धी नयाँ ऐन, नियमावली र कार्यविधि निर्माणको प्रक्रिया अघि बढाइएकोले सगरमाथा संरक्षणलाई विशेष प्राथमिकतामा राख्ने बताए।
उनका अनुसार प्रस्तावित ऐनमा ७ हजार मिटरभन्दा माथिका हिमाल सफलतापूर्वक आरोहण नगरी सगरमाथा आरोहण अनुमति नपाइने प्रावधान समावेश गर्ने तयारी छ।
यस्तो व्यवस्थाले सगरमाथामा हुने भीड घटाउनुका साथै अनुभवी आरोहीले मात्र अनुमति पाउने बताए। सगरमाथामा अत्यधिक भीडले यसको दीर्घकालीन संरक्षण र अस्तित्वमा चुनौती उत्पन्न हुने चिन्ताप्रति आफू सहमत रहेको उल्लेख गरे।
‘सगरमाथामाथीको प्रेसर बढी भयो, सगरमाथा चढ्नेहरुको भीडलाई नियन्त्रण नगर्दा यसको अस्तित्व नै संकटमा आउने कुरामा म पनि सहमत छु, यसको लागी मन्त्रालयले पर्यटनसम्बन्धी ऐन बन्दैछ, नियमावली, कार्यविधिहरु बन्दैछन्, त्यसमा ७ हजार माथीमा हिमालहरु नचढीकन सगरमाथा चढ्न नपाउने प्रकारका प्रावधान अब हामीले बनाउँदैछौँ। हिमालको रोयल्टी बढाउनेतर्फ गैरकर राजस्व हिसावले खासमा यो अर्थ मन्त्रालयले हेर्ने विषय हो। तथापी अर्थमन्त्रालयसंग समन्वय गरेर आगामी दिनमा सगरमाथामाथीको प्रेसरलाई हटाउन हामी प्रतिवद्ध छौँ’ उनले भने।
उनले पर्यटनको विविधतालाई खालमा राखेर सबै प्रकारका पर्यटन प्रवर्द्धनलाई मन्त्रालयले ध्यान दिने बताए। एकै प्रकारको पर्यटन प्रवर्द्धन दिगो नहुने उनले उल्लेख गरे।
मन्त्री पौडेलले ट्वीनटर विमान संरक्षण र विस्तारका लागि नेपाल वायुसेवा निगमलाई आवश्यक निर्देशन दिने बताए। पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि आवश्यक हवाई रुटको लागी कुटनीतिक पहल गरिरहेको पनि उनले जानकारी दिए।