काठमाडौं- एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि ८ मध्ये ६ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरसिप सम्झौता गरेको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स सँग टाइटल स्पोन्सरका रूपमा औपचारिक सम्झौता सम्पन्न गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि सोमबार आयोजित एक विशेष कार्यक्रममा ६ वटै टोलीका प्रतिनिधि र एग्रो थाई फुड्स प्रालिकी विजनेस हेड सोनिया राणाले सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौता पत्रमा उल्लेख भएअनुसार एक्स्ट्रिम इनर्जी ड्रिंक्स सम्बन्धित टोलीको प्रमुख प्रायोजकका रूपमा तीन वर्षसम्म रहनेछ भने टोलीहरूको प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ।
कम्पनीका अनुसार यो सहकार्यले नेपाली क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता एनपीएलमार्फत ब्रान्डलाई अझ सशक्त रूपमा दर्शकमाझ स्थापित गर्नुका साथै नेपाली क्रिकेटको व्यावसायिक विकासमा समेत महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास लिइएको छ।
एग्रो थाई फुड्स प्रालिका नेसनल सेल्स मेनेजर कृष्ण दहालले नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगितामा ६ वटा टोलीसँग टाईटल स्पोन्सरको रुपमा सहकार्य गर्न पाउनु हाम्रा लागि गर्वको कुरा भएको र यो साझेदारी केवल ब्रान्ड प्रचारका लागि मात्र नभएर नेपाली क्रिकेटको दीर्घकालीन विकासका लागि रहेको बताए।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विगत केही वर्षदेखि नेपाली खेलकुद क्षेत्रमा निरन्तर लगानी गर्दै आएको छ। कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजक हुनुका साथै क्रिकेट, फुटबल, भलिबल, म्याराथन तथा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सक्रिय सहकार्य गर्दै आएको छ।
आउँदो दसैँपछि आयोजना हुन लागेको एनपीएलको तेस्रो संस्करण अगाडि भएको यो ठूलो सम्झौताले नेपाली खेलकुदमा निजी क्षेत्रको आकर्षण र विश्वास निकै बढेको देखाउने कम्पनीले जनाएको छ। आगामी दिनमा पनि नेपाली खेलकुदको विकास, खेलाडीहरूको क्षमता वृद्धि र खेल संस्कृतिको विस्तारमा निरन्तर योगदान दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।