काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (माघ-चैत) मा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले विस्तार हुने प्रारम्भिक अनुमान गरिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा विद्युत् उत्पादन तथा वितरण, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह, निर्जीवन बीमा प्रिमियम संकलन, यातायात तथा भण्डारण र व्यापार क्षेत्रमा आएको सुधारले आर्थिक वृद्धिलाई सकारात्मक दिशामा राखेको हो।
कार्यालयका अनुसार अर्थतन्त्रका कुल १८ औद्योगिक वर्गीकरणमध्ये १६ वटामा सकारात्मक वृद्धिदर देखिएको छ। सार्वजनिक प्रशासन तथा रक्षा तथा उत्पादनमूलक उद्योग (म्यानुफ्याक्चरिङ) बाहेक सबै क्षेत्रमा विस्तार भएको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि निर्माण सामग्रीको आयातमा आएको कमी, धान उत्पादनमा गिरावट तथा केही वस्तुको घरेलु उत्पादन घटेकाले समग्र आर्थिक वृद्धिदर अपेक्षाकृत सामान्य स्तरमा सीमित भएको प्रतिवेदनले उल्लेख गरेको छ।
तेस्रो त्रैमासमा सबैभन्दा उच्च वृद्धि विद्युत् तथा ग्यास क्षेत्रमा देखिएको छ। यो क्षेत्र २४.८८ प्रतिशतले विस्तार भएको छ, जुन सबै औद्योगिक गतिविधिमध्ये सबैभन्दा बढी हो। जलविद्युत् उत्पादन तथा वितरणमा आएको विस्तारले यो क्षेत्रलाई अर्थतन्त्रको प्रमुख वृद्धिदाता बनाएको देखिन्छ। त्यसपछि वित्तीय तथा बीमा क्षेत्र १०.२७ प्रतिशतले विस्तार भएको छ। बैंकिङ प्रणालीमा निक्षेप र कर्जा प्रवाह बढ्नुका साथै बीमा कारोबार विस्तार भएकाले यस क्षेत्रको योगदान उल्लेखनीय देखिएको छ।

यातायात तथा भण्डारण क्षेत्र ७.८३ प्रतिशतले बढेको छ भने थोक तथा खुद्रा व्यापार क्षेत्र ५.२५ प्रतिशतले विस्तार भएको छ। स्वदेशी उत्पादन तथा आयातमा आएको सुधारका कारण व्यापारिक गतिविधि बढेको राष्ट्रिय तथ्यांक कार्यालयको विश्लेषण छ।
सूचना तथा सञ्चार क्षेत्र ४.८७ प्रतिशत, व्यावसायिक, वैज्ञानिक तथा प्राविधिक सेवा ४.१९ प्रतिशत, प्रशासनिक तथा सहयोग सेवा ३.५९ प्रतिशत, निर्माण क्षेत्र २.७५ प्रतिशत, स्वास्थ्य तथा सामाजिक सेवा २.१९ प्रतिशत, घरजग्गा कारोबार २.०५ प्रतिशत, आवास तथा भोजन सेवा १.७२ प्रतिशत, अन्य सेवा १.६० प्रतिशत तथा शिक्षा क्षेत्र १.२२ प्रतिशतले विस्तार भएको अनुमान गरिएको छ।
अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर भने १.५८ प्रतिशतमा सीमित भएको छ। धान उत्पादन घटे पनि पशुपालन, तरकारी, फलफूल तथा वनजन्य उत्पादनमा भएको सामान्य वृद्धिका कारण कृषि क्षेत्र सकारात्मक अवस्थामा रहन सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
अर्कोतर्फ उत्पादनमूलक उद्योगको वृद्धिदर ऋणात्मक रहँदै –०.५४ प्रतिशतमा झरेको छ भने सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र पनि –१.५९ प्रतिशतले संकुचित भएको छ। यसले उत्पादन क्षेत्र अझै पूर्ण रूपमा पुनरुत्थान हुन नसकेको संकेत गरेको राष्ट्रिय तथ्यांक कार्यालयको विश्लेषण छ।
मौसमी प्रभाव हटाएर गरिएको विश्लेषणअनुसार भने चालु आर्थिक वर्षकै दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा अर्थतन्त्र केवल ०.५८ प्रतिशतले मात्र विस्तार भएको देखिएको छ। यस अवधिमा १८ औद्योगिक वर्गीकरणमध्ये ११ वटामा वृद्धि भएको छ भने सात वटामा संकुचन आएको छ।
मौसमी समायोजनपछि पनि विद्युत् तथा ग्यास क्षेत्र ६.८७ प्रतिशतको वृद्धिसहित अग्रस्थानमा रहेको छ। खानी तथा उत्खनन क्षेत्र २.२३ प्रतिशत तथा थोक तथा खुद्रा व्यापार २.०२ प्रतिशतले बढेका छन्। तर आवास तथा भोजन सेवा २.३० प्रतिशतले घटेको छ भने वित्तीय तथा बीमा क्षेत्र १.०७ प्रतिशत, उत्पादनमूलक उद्योग ०.८३ प्रतिशत र कृषि क्षेत्र ०.०४ प्रतिशतले संकुचित भएका छन्।
राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०६७/६८ देखि त्रैमासिक राष्ट्रिय लेखा सार्वजनिक गर्दै आएको छ। हाल सार्वजनिक गरिएको तथ्यांक आर्थिक वर्ष २०६७/६८ लाई आधार वर्ष मानी स्थिर मूल्यमा तयार गरिएको हो। कार्यालयले प्रत्येक त्रैमास समाप्त भएको ९० दिनभित्र प्रारम्भिक अनुमान सार्वजनिक गर्ने अभ्यासअनुसार यसपटक पनि तेस्रो त्रैमासको प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ।
तेस्रो त्रैमासको तथ्यांक नेपालको आर्थिक वृद्धि अझै पनि ऊर्जा, बैंकिङ र सेवा क्षेत्रको प्रदर्शनमा निर्भर रहेको देखाएको छ। कृषि क्षेत्रको सुस्त विस्तार, उद्योग क्षेत्रको निरन्तर कमजोरी तथा निर्माण गतिविधिमा अपेक्षित सुधार नआउनुले उत्पादनमुखी अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थामा रहेको संकेत गरेको छ। तर जलविद्युत् उत्पादन, वित्तीय कारोबार र व्यापारिक गतिविधिमा आएको विस्तारले समग्र अर्थतन्त्रलाई सकारात्मक वृद्धितर्फ अघि बढाइरहेको राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक अनुमानले देखाएको छ।