सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

नागढुंगा-मुग्लिङ सडक : नौबिसे-मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २२ २०८३
नागढुंगा-मुग्लिङ सडक : नौबिसे-मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न

पहिलो प्याकेजको नागढुंगादेखि नौबिसेसम्मको प्रगति ८८ प्रतिशत छ भने अर्को खण्डको प्रगति ६० प्रतिशत छ।

काठमाडौं- नागढुंगा-मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिस-मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ।

कुल ४३ किलोमिटर लम्बाइ रहेको यस खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान (रिजिड पेभमेण्ट) गरी कुल २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो।

नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का योजना प्रमुख केशव ओझाकाअनुसार यस खण्डको समग्र भौतिक प्रगति ६० प्रतिशत पुगेको छ।

आयोजनाले चालु आर्थिक वर्षमा ७५ प्रतिशत भौतिक प्रगति पुर्‍याउने लक्ष्य राखेको भएपनि अन्तर्राष्ट्रिय बजारमा देखिएको बिटुमिन अभावका कारण लक्ष्य प्राप्तिमा केही अवरोध सिर्जना भएको थियो।

पश्चिम एसियाको तनावका कारण बिटुमिन आपूर्तिमा समस्या भएपनि हाल पूर्वाधार विकास मन्त्रालयको सहजीकरणपछि आपूर्ति सहज भएको र कामले पुनः गति लिएको उनले बताए।

उनका अनुसार पहिलो खण्डअन्तर्गत पर्ने नागढुंगा-नौबिसे खण्डको भौतिक प्रगति ८८ प्रतिशत पुगिसकेको छ। दोस्रो खण्ड (नौबिसे-मलेखु) मा हालसम्म सम्पन्न २५ किलोमिटर कालोपत्रेमध्ये २.५ किलोमिटर दुई लेनको रहेको छ भने बाँकी २२.५ किलोमिटर सडकको पूर्ण चौडाइमा कालोपत्रे गरिएको छ।

‘हामीले ४३ मध्ये २५ किलोमिटर कालोपत्रे गरिसकेका छौँ। २ किलोमिटर ढलान भइसकेको छ। मौसमको अनुकुलता हेरेर यो काम वर्षा अगाडि पूरा गर्ने लक्ष्य राखेका छौँ। पहिलो प्याकेजको नागढुंगादेखि नौबिसेसम्मको प्रगति करिव ८८ प्रतिशत छ भने यो खण्डको ६० प्रतिशत छ’ उनले भने।

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ज्ञानेन्द्र घिमिरेले मौसमले साथ दिएमा आगामी केही दिनभित्रै थप ६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको जानकारी दिए।

उनका अनुसार बिटुमिन आपूर्ति सहज भए यता नौबिसे-मलेखु खण्डमा मात्र ३ हजार ३ सय मिटर थप कालोपत्रे भइसकेको छ।

‘हामीले २७ किलोमिटर काम सकिसकेका छौँ। ४३ किलोमिटरमा २ किलोमिटर ढलान भएको छ। २५ किलोमिटर कालोपत्रे भइसकेको छ। मौसमले साथ दिएसम्म ब्रेक नगर्ने भन्ने हाम्रो लक्ष्य छ। बिटुमिनको सहजता र मौसम अनुकूल भयो भने काम गर्न सहज हुन्छ। मौसमका कारण बिहानदेखि बेलुकासम्म काम गर्न पाएको छैन’ उनले भने।

हाल निर्माण कम्पनीले दैनिक ४ सय देखि ५ सय मिटरसम्म कालोपत्रे गर्ने क्षमताका साथ काम गरिरहेको छ। प्रतिकूल मौसम र प्राविधिक कठिनाइका बाबजुद आयोजनाले यसै आर्थिक वर्षको अन्त्यसम्ममा ६५ प्रतिशत भौतिक प्रगति हासिल गर्ने संशोधित लक्ष्य लिएको छ।

वर्षात सुरु हुनुअघि नै उत्खनन गरिएका पुराना पिच खण्डहरूलाई पुनः कालोपत्रे गरी सवारी आवागमन सहज बनाउन आयोजनाले उच्च प्राथमिकता दिएको छ। 


प्रकाशित : सोमबार, असार २२ २०८३११:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend