काठमाडौं- नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको 'नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ' जारी गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै १ वर्ष अवधिको उक्त ऋणपत्रका लागि असार २२ गते मध्याह्न १२ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबोल आव्हान गरेको हो।
यो ऋणपत्रको बोलकबोल बहुव्याजदरमा समेत गर्न सकिने र यसको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ। उक्त ऋणपत्रको साँवा भुक्तानी २०८४ असार २२ गते हुनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ।
इच्छुक खरिदकर्ताले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यस ऋणपत्रलाई राष्ट्र बैंक तथा अन्य बैंक र वित्तीय संस्थाहरूमा धितोको रूपमा समेत प्रयोग गर्न सकिने सुविधा रहेको छ। केन्द्रिय बैंकका अनुसार यस बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
काउण्टरपार्टीले आफूले कबोल गर्न चाहेको रकम र ब्याजदर दशमलव पछिको ४ अंकसम्म उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। ऋणपत्र बाँडफाँट गर्दा ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी एकल ब्याजदर कायम गरिनेछ र सो दर वा सोभन्दा कम बोलवालालाई ऋणपत्र बिक्री गरिनेछ।
यदि समान ब्याजदर बोल गर्नेहरूको रकम कुल निष्कासित रकमभन्दा बढी भएमा समानुपातिक रूपमा बाँडफाँट गरिने उल्लेख छ। यस प्रक्रियामा सहभागी हुँदा निष्कासन मितिमा काउण्टरपार्टीको खातामा पर्याप्त मौज्दात हुनुपर्नेछ, अन्यथा स्वीकृत बोल रकम रद्द गरी २.५० प्रतिशत हर्जाना सहित ६ महिनासम्म खुला बजार कारोबारमा सहभागी हुन बन्देज लगाइनेछ।