राँझा(बाँके)- सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ भएको छ। जिल्लाका केही भू-भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि अधिकांश क्षेत्रका किसान आकाशे पानीको भरमा छन्।
पर्याप्त वर्षा नहुँदा यस वर्ष किसानले अझैसम्म धान रोप्न नसकेका कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले बताइन्। उनका अनुसार जिल्लामा असारको दोस्रो सातादेखि सुरु गरिएको रोपाइँ शुक्रबारसम्म १८ प्रतिशतमात्र भएको छ। रोपाइँ भएकोमध्ये अधिकांश किसानले सिक्टा सिँचाइ र भूमिगत पानीको प्रयोग गरिरहेका छन्।
मसिनो र मध्यम जातका धानखेती गर्ने किसानलाई रोपाइँमा समस्या भए पनि मोटो धानखेती गर्नेलाई ढिलो वर्षा भए पनि समस्या नहुने सूचना अधिकारी शर्माले बताइन्। उनका अनुसार जिल्लामा कुल खेतीयोग्य ५५ हजार ८२६ हेक्टर क्षेत्रमध्ये ३३ हजार ७८० हेक्टरमा धानखेती हुँदै आएको छ।
सिक्टा सिँचाइ आयोजनाको नहरबाट कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिकाका र राप्तीसोनारी गाउँपालिकाका केही वडामा सिँचाइ सुविधा पुगेकाले ती क्षेत्रमा रोपाइँ भइरहेको सूचना अधिकारी शर्माको भनाइ छ। उनका अनुसार सिँचाइ अभावका कारण जिल्लाका अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा खेती गर्न बाध्य छन्।
रोपाइँको समय भएकाले सिक्टाको पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छोडिएको आयोजना कार्यालयका सूचना अधिकारी मनोज शाहले बताए। उनका अनुसार राप्तीसोनारी गाउँपालिका-२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य लिएकामा हालसम्म २४ हजार क्षेत्रका किसानले सिँचाइ सुविधा पाएका छन्। रासस