शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

पाल्पाबाट दालचिनी भारत निर्यात, प्रतिकिलो १०० रुपैयाँमा बिक्री

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १९ २०८३
पाल्पाबाट दालचिनी भारत निर्यात, प्रतिकिलो १०० रुपैयाँमा बिक्री

दालचिनी र तेजपातको उत्पादन तथा बजार विस्तारमा निरन्तरता दिनसके स्थानीय कृषकको आम्दानी वृद्धि हुनुका साथै जिल्लाको वनजन्य उत्पादनको निर्यात प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

पाल्पा- चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत निर्यात भएको छ। डिभिजन वन कार्यालय पाल्पाका अनुसार चालु आवमा ३ लाख ४७ हजार ९ सय ६९ किलो दालचिनी भारत निकासी भएको थियो। उक्त परिमाण पछिल्लो आवको तुलनामा सबैभन्दा बढी हो।

आव २०७७/७८ मा १ लाख ९१ हजार ४ सय १५ किलो दालचिनी भारत निर्यात भएको थियो। कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङले चालु आवमा १२ लाख ८८ हजार ४ सय ८२ किलो तेजपात पनि भारत निर्यात भएको बताए।

गत आवमा एक लाख २१ हजार १० किलो दालचिनी र आठ लाख ८१ हजार ७ सय ३१ किलो तेजपात निकासी भएको थियो। कार्यालयको तथ्यांकअनुसार आव २०८०/८१ मा एक लाख ७६ हजार ६ सय ९७ किलो, २०७९/८० मा एक लाख ८३ हजार ५ सय ९० किलो, २०७८/०७९ मा एक लाख ९० हजार २ सय १४ किलो र २०७७/०७८ मा १ लाख ९१ हजार ४ सय १५ किलो दालचिनी भारत निर्यात भएको हो।

त्यसैगरी, तेजपात निर्यातमा पनि वृद्धि भएको छ। आव २०८०/०८१ मा सात लाख ६ हजार ७ सय ९० किलो रहेको तेजपात निकासी गत वर्ष आठ लाख ८१ हजार ७ सय ३१ किलो पुगेको थियो। चालु आवमा बढेर १२ लाख ८८ हजार ४ सय ८२ किलो पुगेको कार्यालयले जनाएको छ।

पाल्पामा उत्पादन हुने तेजपात र दालचिनीको प्रमुख बजार भारत हो। तेजपात र दालचिनी यहाँका नागरिकको प्रमुख आम्दानीको माध्यम बनेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताए। उनले किसानले तेजपात प्रतिकिलो ५० देखि ६० र दालचिनी प्रतिकिलो १०० रुपैयाँमा बिक्री गर्दै आएको बताए। 

दालचिनी र तेजपातको उत्पादन तथा बजार विस्तारमा निरन्तरता दिनसके स्थानीय कृषकको आम्दानी वृद्धि हुनुका साथै जिल्लाको वनजन्य उत्पादनको निर्यात प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए। रासस


प्रकाशित : शुक्रबार, असार १९ २०८३१४:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend