काठमाडौं- विगत ६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिल नेपालका स्थायी कर्मचारीहरूले धर्ना सुरु गरेका छन्।
सरकारद्वारा निर्धारित अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता गत माघ महिनादेखि उपलब्ध नगराइएको भन्दै कर्मचारीहरूले बिहीबारदेखि ‘पेन डाउन’ गरी कामकाज ठप्प पारेका हुन्।
काउन्सिलका सूचना अधिकारी रामशरण बोहराका अनुसार कर्मचारीहरूले लामो समयदेखि व्यवस्थापनसमक्ष भत्ता उपलब्ध गराउन माग गर्दै आएका थिए। बोर्ड सदस्यहरूको कार्यकाल समाप्त भइ बोर्ड रिक्त रहेको अवस्थामा कर्मचारीहरूको जायज मागलाई बेवास्ता गरिएको उनको गुनासो छ।
कर्मचारीहरूले बिहीबारबाट काउन्सिलको कामकाज रोकेर धर्ना दिइरहेका छन्। भत्ता पाउने ठोस सुनिश्चितता नभएसम्म आन्दोलन र कामकाज बहिष्कारको कार्यक्रम निरन्तर जारी रहने सूचना अधिकारी बोहराको चेतावनी छ।
‘काउन्सिल सचिवालयका स्थायी कर्मचारीहरूले माघ महिनादेखि सरकारको अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता हालसम्म पनि पाएका छैनौँ। यस विषयमा हामीले पटकपटक व्यवस्थापनसँग अनुरोध गर्दै आएका छौँ। बोर्ड रहेको अवस्थादेखि नै हामीले महँगी भत्ता रोकिएको विषय उठाउँदै आएका थियौँ। तर हाल बोर्डसमेत नभएको अवस्था छ र हाम्रो माग अझै सम्बोधन भएको छैन। यसै कारण आज सबै स्थायी कर्मचारी साथीहरू दबाब सिर्जना गर्ने उद्देश्यले हिजोदेखि काउन्सिल सचिवालयको बाहिरी प्राङ्गणमा बसेका छौँ' सूचना अधिकारी बोहराले भने।
शान्तिपूर्ण दबाबमूलक कार्यक्रम गरेको भन्दै उनले भने, 'असार महिनाको अन्तिमतिर आइपुगेका छौँ। आज असार १९ गते भइसक्यो। ६ महिनादेखि पाउनुपर्ने महँगी भत्ता नपाएको कारण हामीले व्यवस्थापनसँग उक्त भत्ता उपलब्ध गराउन आग्रह गर्दै दबाब सिर्जना गरिरहेका छौँ। हिजोदेखि हामी पेनडाउन गरेर काम रोकेका छौँ। हाल हाम्रो सम्पूर्ण काम ठप्प छ। आज पनि हामी कुनै काम गर्दैनौँ। जबसम्म महँगी भत्ता उपलब्ध गराइने स्पष्ट आश्वासन प्राप्त हुँदैन, तबसम्म हामी यहीँ निरन्तर बसिरहनेछौँ।’
सूचना अधिकारी बोहराले विरोध कार्यक्रम अधिकार प्राप्तिका लागि गरिएको मर्यादित दबाबमूलक रहेको बताए।