काठमाडौं- ललितपुरस्थित जेष्ठ वर्ण महाविहारलाई २०८३ असार १८ गते सन् २०२५ युनेस्को एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कारअन्तर्गत प्रदान गरिएको अवार्ड अफ मेरिट हस्तान्तरण समारोहको आयोजना गरिएको छ।
नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेको उपस्थितिमा धातुपट्टिका र आधिकारिक प्रमाणपत्र जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिलाई हस्तान्तरण गरे।
समारोहमा स्थानीय समुदायका सदस्यहरु, इन्डियन नेशनल ट्रष्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इन्ट्याक) का प्रतिनिधि, सम्पदा संरक्षणविद्हरु तथा नेपाल सरकारका अधिकारीहरुको उपस्थिति थियो।
जेष्ठ वर्ण महाविहारको संरक्षण कार्य नेपालको साँस्कृतिक सम्पदा क्षेत्रमा भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदानको एक हिस्साको रुपमा १३.७८ करोड रुपैयाँको लागतमा अघि बढाइएको थियो।
पुनर्निर्माण प्रयासको हिस्सा स्वरुप भारत सरकारले प्राविधिक विशेषज्ञता उपलब्ध गराउनका लागि परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा भारतको इन्ट्याकलाई नियुक्त गरेको थियो। उनीहरुले नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र स्थानीय समुदायसँग निकटतम समन्वयमा काम गरेका थिए। यस परियोजनाको उद्घाटन २०८० चैत्र ९ गते राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका तत्कालीन शहरी विकास मन्त्री धनबहादुर बुढाद्वारा गरिएको थियो।
संरक्षण परियोजनालाई युनेस्कोले यसको अनुकरणीय समुदाय–केन्द्रित दृष्टिकोण र जटिल ऐतिहासिक नेवारी काष्ठकला तथा पारम्परिक वास्तुकलाको संरक्षणको आवश्यकतासँग आधुनिक भूकम्पीय सुरक्षा प्रबलीकरणलाई सफलतापूर्वक सन्तुलन राखेकोमा मान्यता प्रदान गरेको छ। यस परियोजनाले संरक्षण प्रक्रिया अवधिभर नेवार बौद्ध समुदायको जीवन्त सम्पदा, दैनिक अनुष्ठान र साँंस्कृतिक अभ्यासहरु बिना कुनै अवरोध निरन्तर रुपमा सञ्चालन हुने कुरा समेत सुनिश्चित गरेको थियो।
भारत सरकारले २०७२ सालको गोरखा भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारको प्रयासलाई सहयोग पुर्याउन १ अर्ब अमेरिकी डलर बराबरको सहायता प्रतिबद्धता गरेको थियो। पुनर्निर्माण प्रयासको हिस्सा स्वरुप भारत सरकारले हालसम्म ५०,००० निजी आवास, ७० वटा विद्यालय र एक पुस्तकालय, १२२ वटा स्वास्थ्य संस्था तथा १७ वटा साँस्कृतिक सम्पदा स्थलहरुको पुनर्निर्माण कार्य सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। यसबाहेक भूकम्प प्रभावित जिल्लाहरुमा अवस्थित थप १४ वटा विद्यालय, ११ वटा स्वास्थ्य संस्था र साँस्कृतिक सम्पदा क्षेत्रका १३ वटा परियोजनाहरु पुनर्निर्माणको विभिन्न चरणमा रहेका छन् जुन भारतीय सहायतामार्फत कार्यान्वयन भइरहेका छन्।
साँस्कृतिक सम्पदा क्षेत्र अन्तर्गत भारत सरकार नेपालका ८ वटा जिल्लाहरुमा रहेका ३० वटा साँस्कृतिक सम्पदा परियोजनाहरुको संरक्षण तथा पुनस्र्थापनामा संलग्न रहँदै आएको छ।
परियोजनाहरुमा ऐतिहासिक स्थलहरु, प्राचीन भवनहरु, मन्दिरहरुको पुनर्स्थापना र गुम्बाहरु तथा धर्मशाला भवनहरुको पुनर्निर्माण समावेश छन्। जसमा काठमाडौँको सेतो मच्छिन्द्रनाथ मन्दिर, ललितपुरको कुमारी घर र जेष्ठ वर्ण महाविहार, भक्तपुरको जंगम मठ, र सिन्धुपाल्चोकको तार्के घ्याङ गुम्बालगायत छन्।
साँस्कृतिक सम्पदा क्षेत्रमा भारत सरकारको सहयोग भौतिक संरचनाको मर्मतमा मात्र सीमित नभई यसले महत्वपूर्ण सामाजिक–आर्थिक र साँस्कृतिक लाभहरुलाई समेत समेट्छ जसले नेपालको समग्र पुनरुत्थान र दीर्घकालीन हितमा योगदान पुर्याउँछ।
कार्यक्रममा बोल्दै डा. राकेश पाण्डेले उपभोक्ता समुदाय, सिएलपिआईयु, इन्ट्याक र अन्य सरोकारवालाहरुलाई बधाई दिए। उनले जेष्ठ वर्ण महाविहार परियोजनाको सफलताले भारत र नेपालबीच रहेको गहिरो साँस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई प्रष्ट पारेको कुरामा जोड दिए। उनले साझा र समृद्ध साँस्कृतिक पहिचानको संरक्षण तथा पुनर्स्थापनामा नेपाल सरकार र नेपाली जनतासँग साझेदारी गर्न भारत सरकार निरन्तर प्रतिबद्ध रहेको कुरालाई दोहोर्याए।
कार्यक्रममा बोल्दै चिरीबाबु महर्जनले सहकार्यको भावनाको बारे र जेष्ठ वर्ण महाविहारको संरक्षणमा भारत सरकारको भूमिकाबारे चर्चा गरे। जसले बलियो भारत–नेपाल विकास साझेदारीलाई प्रतिबिम्बित गर्दछ। उनले ललितपुरका अन्य विभिन्न साँस्कृतिक सम्पदा स्थलहरुको पुनर्स्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार प्रकट गरे। उनले यस मान्यताका लागि युनेस्कोलाई धन्यवाद दिनुका साथै अवार्ड प्राप्त गर्नेहरुलाई बधाई पनि दिए।
जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिका प्रतिनिधिहरुले आर्थिक तथा प्राविधिक सहयोग समयमा नै उपलब्ध गराएकोमा भारत सरकारप्रति हार्दिक आभार प्रकट गरे। उनीहरुले पुनर्स्थापना गरिएको यस महाविहार समुदायको उत्थानशीलता र द्विपक्षीय मित्रताको एउटा गौरवशाली प्रतीकका रुपमा खडा रहेको कुरालाई समेत जोड दिए।