शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

आन्तरिक पर्यटनको अर्थतन्त्रमा २.६५ प्रतिशत योगदान, विदेशी बजारमा भारतीय पर्यटकको बलियो टेको

देशभित्रै ४ खर्ब ७ अर्ब रुपैयाँको पर्यटकीय खर्च, जुनमा आएका विदेशीमध्ये ४६ प्रतिशत भारतीय

शुक्रबार, असार १९ २०८३
आन्तरिक पर्यटनको अर्थतन्त्रमा २.६५ प्रतिशत योगदान, विदेशी बजारमा भारतीय पर्यटकको बलियो टेको

काठमाडौं- नेपालको पर्यटन उद्योग विदेशी पर्यटकको आगमनमा मात्र निर्भर नरहेको तथ्य पहिलोपटक आधिकारिक तथ्यांकले पुष्टि गरेको छ।

एकातिर राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पहिलो देशव्यापी ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ ले आन्तरिक पर्यटनले मात्रै मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २.६५ प्रतिशत योगदान दिएको देखाएको छ भने अर्कोतर्फ नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्यांकले अन्तर्राष्ट्रिय बजारमा भारतीय पर्यटक नेपालको पर्यटन उद्योगको सबैभन्दा ठूलो आधार बन्दै गएको संकेत गरेको छ।

दुवै तथ्यांकलाई एकसाथ विश्लेषण गर्दा नेपालको पर्यटन उद्योग अहिले दुई बलिया आधारमा उभिएको देखिन्छ। पहिलो, देशभित्रका लाखौँ नेपालीले सिर्जना गरेको विशाल घरेलु पर्यटन बजार र दोस्रो, छिमेकी भारतबाट निरन्तर बढिरहेको पर्यटक आगमन।

राष्ट्रिय तथ्यांक कार्यालयले २०८१ असोजदेखि २०८२ भदौसम्म ४४४ गणना क्षेत्रका ५ हजार ३२८ घरपरिवारलाई समेटेर पहिलोपटक देशव्यापी आन्तरिक पर्यटन सर्वेक्षण गरेको हो।

नमूना तथ्यांकलाई राष्ट्रिय प्रतिनिधित्व हुने गरी भार प्रदान गरेर तयार गरिएको प्रतिवेदनले नेपालमा आन्तरिक पर्यटनको आर्थिक, सामाजिक तथा सांस्कृतिक प्रभावलाई पहिलोपटक तथ्यांकमार्फत स्पष्टरूपमा देखाएको छ।

देशभित्रै ४ खर्बभन्दा बढीको पर्यटकीय खर्च

सर्वेक्षणअनुसार एक वर्षको अवधिमा नेपालभित्र मात्रै ४ खर्ब ७ अर्ब १७ करोड रुपैयाँ बराबरको पर्यटकीय उपभोग भएको अनुमान गरिएको छ। पर्यटन स्याटलाइट लेखाको अन्तर्राष्ट्रिय ढाँचाअनुसार गरिएको यस गणनाले आन्तरिक पर्यटन अर्थतन्त्रको वास्तविक आकार उजागर गरेको हो।

कुल उपभोगमध्ये रात बिताएर गरिएका भ्रमणबाट ३ खर्ब १४ अर्ब ४१ करोड रुपैयाँ तथा सोही दिन फर्किने भ्रमणबाट ९२ अर्ब ७६ करोड रुपैयाँ बराबरको खर्च भएको देखिएको छ।

यस खर्चका आधारमा आन्तरिक पर्यटन क्षेत्रबाट ३ खर्ब ३१ अर्ब ८४ करोड रुपैयाँ बराबरको उत्पादन सिर्जना भएको छ। उत्पादन प्रक्रियामा प्रयोग भएको १ खर्ब ८७ अर्ब ३४ करोड रुपैयाँ बराबरको मध्यवर्ती उपभोग कटाएपछि १ खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ बराबरको पर्यटन मूल्य अभिवृद्धि सिर्जना भएको राष्ट्रिय तथ्यांक कार्यालयको निष्कर्ष छ। यही मूल्य अभिवृद्धिले नेपालको कुल गार्हस्थ्य उत्पादनमा २.६५ प्रतिशत योगदान पुर्‍याएको हो।

यसले पर्यटनलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योग मात्र नभई घरेलु उत्पादन, रोजगारी, यातायात, होटल, रेस्टुरेन्ट, व्यापार तथा सेवा क्षेत्र चलाउने प्रमुख आर्थिक क्षेत्रका रूपमा स्थापित गरेको देखिन्छ।

आधाभन्दा बढी नेपाली घरपरिवार पर्यटनमा सहभागी

नेपालमा कुल ६९ लाख १० हजार घरपरिवार रहेकामा ३६ लाख २१ हजार अर्थात् ५२.४ प्रतिशत घरपरिवारले अध्ययन अवधिमा कम्तीमा एकपटक पर्यटनसम्बन्धी भ्रमण गरेको पाइएको छ।

अर्कोतर्फ ३२ लाख ८९ हजार घरपरिवार (४७.६ प्रतिशत) ले कुनै पनि प्रकारको पर्यटकीय यात्रा नगरेको देखिएको छ। यसको अर्थ, नेपालका प्रत्येक हजार घरपरिवारमध्ये ५२३ घरपरिवार पर्यटन गतिविधिमा संलग्न छन्। राष्ट्रिय तथ्यांक कार्यालयले यसलाई नेपालको पर्यटन संस्कृति विस्तार हुँदै गएको संकेतका रूपमा व्याख्या गरेको छ।

प्रतिवेदनले नेपालमा आन्तरिक पर्यटनको स्वरूप पश्चिमी मुलुकको जस्तो मनोरञ्जनमुखी नभई सामाजिक सम्बन्धमा आधारित रहेको देखाएको छ। रात बिताउने भ्रमणमध्ये ६५.५ प्रतिशत यात्रा साथीभाइ तथा आफन्त भेटघाटका लागि भएका छन्।

यसपछि शिक्षा, व्यापार, स्वास्थ्य उपचार, धार्मिक यात्रा तथा बिदा मनाउने उद्देश्य रहेका छन्। सोही दिन फर्किने यात्रामा भने किनमेल सबैभन्दा ठूलो उद्देश्य (३२.६ प्रतिशत) रहेको छ। त्यसपछि स्वास्थ्य उपचार तथा आफन्त भेटघाट समान २०.१ प्रतिशत छन्। यसले नेपाली समाजमा पारिवारिक सञ्जाल र सामाजिक सम्बन्धले पर्यटन गतिविधिलाई अझै पनि मुख्य रूपमा निर्देशित गरिरहेको देखाउँछ।

युवा पुस्ताले धानेको आन्तरिक पर्यटन

उमेर समूहअनुसार हेर्दा सबैभन्दा धेरै सक्रिय पर्यटक १३ देखि २८ वर्ष उमेर समूह (जेनेरेसन जी) रहेको देखिएको छ। यस समूहको हिस्सा २६.६ प्रतिशत छ। त्यसपछि ०-१२ वर्ष (२२.६ प्रतिशत) तथा २९-४४ वर्ष (२२ प्रतिशत) रहेका छन्।

युवा पुस्ताले अन्य उमेर समूहभन्दा धेरै पटक यात्रा गर्ने गरेको प्रतिवेदनले देखाएको छ। जेनेरेसन अल्फाले वार्षिक औसत ४.२० पटक तथा जेनेरेसन जीले ४.१४ पटक रात बिताउने यात्रा गरेका छन्। उमेर बढ्दै जाँदा भ्रमणको संख्या घट्दै गएको छ।

व्यापार, शिक्षा र स्वास्थ्यसम्बन्धी भ्रमणका लागि काठमाडौँ सबैभन्दा ठूलो गन्तव्य बनेको छ। मनोरञ्जन तथा बिदा मनाउन भने कास्की सबैभन्दा लोकप्रिय जिल्ला बनेको छ।

रात बिताउने आन्तरिक भ्रमणका प्रमुख गन्तव्य काठमाडौँ, चितवन र कास्की रहेका छन्। प्रदेशगत रूपमा गण्डकीमा सबैभन्दा धेरै भ्रमण हुने गरेको छ भने सुदूरपश्चिम र मधेशमा बसाइ अवधि सबैभन्दा लामो रहेको छ।

करिब ६९ प्रतिशत आन्तरिक पर्यटकले सार्वजनिक यातायात प्रयोग गरेका छन्। पारिवारिक भेटघाट तथा किनमेलका लागि बस सबैभन्दा धेरै प्रयोग भएको देखिएको छ। व्यापार तथा शिक्षा उद्देश्यका यात्रामा भने हवाई सेवाको प्रयोग अपेक्षाकृत बढी रहेको छ।

विदेशी बजारमा भारतको एकछत्र प्रभाव

आन्तरिक पर्यटन अर्थतन्त्र बलियो भइरहेका बेला अन्तरराष्ट्रिय बजारमा भने भारत नेपालको सबैभन्दा भरपर्दो स्रोत बजार बनेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को जुनमा नेपाल आएका ९१ हजार ३६३ विदेशी पर्यटकमध्ये ४१ हजार ८०९ जना भारतीय थिए। यो कुल विदेशी आगमनको करिब ४६ प्रतिशत हो।

यसअघि मे महिनामा पनि ४० हजार ७८२ भारतीय नेपाल आएका थिए। जुनमा त्यो रेकर्ड समेत तोडिएको हो। नेपाल पर्यटन बोर्डको अभिलेखअनुसार यो कुनै एक महिनामा हवाईमार्गबाट नेपाल आएका भारतीय पर्यटकको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो।

पर्यटन व्यवसायीहरूका अनुसार यस वर्ष भारतीय पर्यटक बढ्नुका पछाडि धेरै कारण छन्। अमेरिका-इरान तनावपछि अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भयो।

त्यसले युरोप, मध्यपूर्व र अन्य टाढाका गन्तव्यको सट्टा भारतीय पर्यटकलाई नेपालतर्फ आकर्षित गर्‍यो। त्यसमाथि भारतमा अत्यधिक गर्मी, विद्यालय बिदा तथा नेपालको चिसो मौसमले पनि पर्यटकको संख्या बढाउन सहयोग गरेको व्यवसायीहरूको भनाइ छ।

होटल संघ नेपाल (गण्डकी) का अनुसार मे र जुनमा पोखराका होटलका करिब ८० प्रतिशत कोठा भारतीय पर्यटकले भरिएका थिए। अघिल्ला वर्षमा यो अनुपात करिब ५० प्रतिशत मात्रै हुने गरेको थियो। पोखरा भारतीय पर्यटकका लागि मुक्तिनाथ, अन्नपूर्ण क्षेत्र तथा अन्य हिमाली गन्तव्यको प्रवेशद्वार भएकाले आकर्षण बढेको व्यवसायी बताउँछन्।

भारतीय पर्यटकको संख्या बढे पनि खर्च गर्ने क्षमता भने अपेक्षाअनुसार बढ्न सकेको छैन। पर्यटन व्यवसायीहरूका अनुसार अहिले आउने अधिकांश भारतीय पर्यटक व्यक्तिगत रूपमा आफ्नै सवारी वा आफैं होटल बुक गरेर आउने भएकाले ट्राभल एजेन्सीमार्फत आउने उच्च खर्च गर्ने समूहको संख्या अझै सीमित छ। यसले पर्यटक संख्या बढे पनि प्रतिपर्यटक औसत आम्दानी अपेक्षाअनुसार बढ्न नसकेको देखाउँछ।

चीन अझै पुरानै अवस्थामा फर्किएन

कोभिड-१९ महामारीअघि नेपालको दोस्रो ठूलो स्रोत बजार बन्दै गएको चीनबाट आउने पर्यटक अझै महामारीअघिको स्तरमा फर्किएका छैनन्। जुनमा चीनबाट ९ हजार ९९५ पर्यटक आएका छन्।

अमेरिका ११ हजार ८३६ पर्यटकसहित दोस्रो, चीन तेस्रो, बंगलादेश चौथो र अस्ट्रेलिया पाँचौँ ठूलो स्रोत बजार बनेका छन्। व्यवसायीहरूका अनुसार चीनको कमजोर आर्थिक अवस्था र अन्तर्राष्ट्रिय  यात्रा अझै पूर्णरूपमा नबढेकाले चिनियाँ आगमन सुस्त रहेको हो।


प्रकाशित : शुक्रबार, असार १९ २०८३११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend