बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

पर्यटक आगमन १९.५ प्रतिशतले वृद्धि : जुन महिनामा ९१ हजार ३ सय ६३ विदेशी पर्यटक भित्रिए

बिहीबार , असार १८ २०८३
पर्यटक आगमन १९.५ प्रतिशतले वृद्धि : जुन महिनामा ९१ हजार ३ सय ६३ विदेशी पर्यटक भित्रिए

अमेरिकाबाट ६ हजार ९ सय ५४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ७.६१ प्रतिशत हो। यस अवधिमा संयुक्त राज्य अमेरिकाबाट ५ हजार २ सय ३७, क्यानडाबाट १ हजार २ सय ९८ तथा ब्राजिलबाट २ सय १९ पर्यटक आएका छन्।

काठमाडौं- सन् २०२६ को जुन महिनामा ९१ हजार ३ सय ६३ विदेशी पर्यटक भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटकमा गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो। गत वर्षको सोही महिनामा ७६ हजार ४ सय २५ जनाले नेपाल भ्रमण गरेका थिए।

त्यसैगरी कोभिड महामारीअघि सर्वाधिक पर्यटन गतिविधि रहेको सन् २०१९ को जुन महिनाको ७४ हजार ८ सय ८३ आगमन भएको थियो। त्यसको आधारमा हेर्दा यस वर्षको जुन महिनामा २२.०१ प्रतिशतले वृद्धि भएको देखिन्छ।

जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकबाट ४८ हजार २ सय ५४ जना आएका छन्। जुन कुल आगमनको ५२.८ प्रतिशत हिस्सा हो।

मुख्य स्रोत बजारमध्ये भारतबाट मात्रै ४१ हजार ८ सय ९ जना पर्यटक आएका छन्। अन्य एसियाली मुलुकबाट १६ हजार १ सय ५२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १७.६८ प्रतिशत हो। जसमा चीनबाट ८ हजार ८ सय ७५ पर्यटक आगमन भएको छ भने जापानबाट २ हजार ४ सय ९७, दक्षिण कोरियाबाट १ हजार ७ सय ६५ तथा थाइल्यान्डबाट ९ सय ८४ पर्यटक नेपाल आएका छन्।

युरोपबाट १३ हजार १ सय १९ पर्यटक नेपाल भ्रमणमा आएका छन्। युरोपेली मुलुकमध्ये बेलायतबाट ३ हजार २ सय ६६, जर्मनीबाट १ हजार ८ सय ९२ र फ्रान्सबाट १ हजार २ सय ६७ पर्यटक आएका छन्।

अमेरिकाबाट ६ हजार ९ सय ५४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ७.६१ प्रतिशत हो। यस अवधिमा संयुक्त राज्य अमेरिकाबाट ५ हजार २ सय ३७, क्यानडाबाट १ हजार २ सय ९८ तथा ब्राजिलबाट २ सय १९ पर्यटक आएका छन्।

त्यस्तै, ओसियानिया क्षेत्रबाट ३ हजार ९० जना पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको तुलनामा ५६.३५ प्रतिशत र सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढी हो। यस क्षेत्रमा अष्ट्रेलियाबाट २ हजार ६९४ तथा न्यूजिल्यान्डबाट ३९० पर्यटक आएका छन्। अफ्रिकाबाट ६७४ तथा मध्यपूर्वबाट २९२ जना पर्यटक नेपाल आएका छन्।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाका अनुसार पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन अभियान, प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसार तथा नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविका कारण पर्यटक आगमनमा निरन्तर सुधार देखिएको हो।

बोर्डले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोप तथा अन्य प्रमुख स्रोत बजारमा थप प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।


प्रकाशित : बिहीबार , असार १८ २०८३१२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend