बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

औषधि अभाव रोक्न न्यूनतम मौज्दात राख्ने औषधि व्यवस्था विभागको तयारी

खुला सीमाका कारण गुणस्तरहीन औषधिको जोखिम

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १७ २०८३
औषधि अभाव रोक्न न्यूनतम मौज्दात राख्ने औषधि व्यवस्था विभागको तयारी

अत्यावश्यक औषधिमा कम्तीमा ८० प्रतिशत आत्मनिर्भरता हासिल गर्ने सरकारको लक्ष्य। स्वदेशी उद्योगलाई अत्यावश्यक औषधि उत्पादनतर्फ प्रोत्साहन गर्ने नीति।

काठमाडौं- औषधि व्यवस्था विभागले औषधि अभाव रोक्न न्यूनतम मौज्दात (मिनिमम स्टक) राख्ने व्यवस्था लागु गर्ने तयारी गरेको छ।

बजारमा बेलाबेलामा देखिने औषधि अभाव समाधान गर्न विभागले औषधि मौज्दात राख्नेगरी तयारी थालेको हो।

विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीका अनुसार औषधिको उत्पादन, आयात र मूल्य निर्धारणसँग सम्बन्धित विभिन्न कारणले बजारमा अभाव देखिने गरेको छ।

विभागमा दर्ता भएका सबै औषधिहरु नियमित रूपमा उत्पादन वा आयात नहुँदा कहिले कहीँ अभाव सिर्जना हुने उनको भनाइ छ। औषधिको मूल्यका कारण पनि औषधि अभाव हुने गरेको उनले बताइन्।

मूल्यकै कारण केही समयअघि क्यान्सर उपचारमा प्रयोग हुने औषधिमा चरम अभाव देखिएको उनको भनाइ छ। हाल पनि क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव नै रहेको उनले जानकारी दिइन्।

केही दुर्लभ रोग (रेयर डिजिज) मा प्रयोग हुने ‘अर्फन ड्रग्स’ व्यावसायिक रूपमा कम लाभदायक हुने भएकाले उत्पादक वा आयातकर्ताले उत्पादन तथा आयातमा रुचि नदेखाउँदा पनि अभाव हुने गरेको उनको भनाइ छ। यस्ता औषधि नियमित रूपमा आवश्यक नपर्ने तर आवश्यक समयमा उपलब्ध नभए बिरामीको ज्यान जोखिममा पर्ने खालको औषधिलाई विभागले स्वास्थ्य सेवा विभाग, अस्पताल र अन्य सरोकारवाला निकायसँग समन्वय गरी न्युनतम मौज्दात राख्ने योजना अघि बढाएको उनले जानकारी दिइन्।

उनले विभागको विशेष सिफारिसमार्फत आयात भइरहेका वा नेपालमा अत्यन्त कम दर्ता भएका जीवनरक्षक औषधिको सूची तयार गरी ती औषधिको स्वदेशमै उत्पादन वा नियमित आयात सुनिश्चित गर्ने योजना रहेको बताइन्।

रेबिज खोपको अभावबारे विभागलाई छैन जानकारी

निमित्त महानिर्देशक खड्गीले देशमा रेबिज खोपको अभाव भएको भन्ने विषयमा विभागमा आधिकारिक जानकारी नआएको बताइन्।

उनले सरकारी खरिद (प्रोक्योरमेन्ट) प्रक्रिया केही ढिलो हुँदा खोप आपूर्तिमा असर परेको हुनसक्ने उल्लेख गर्दै हाल खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिइन्।

उनका अनुसार अनुसार नेपालमा प्रयोग हुने अधिकांश खोप विदेशबाट आयात हुने गरेका छन्। स्वदेशमा पशुचिकित्सा (भेटेरिनरी) खोप मात्र उत्पादन हुने र मानव प्रयोगका सबै खोप आयातमै निर्भर रहेको उनको भनाइ छ।

उनले भनिन्, ‘रेबिज खोपको अभावको विषय अलिकति उठिरहेको छ। विभागमा अभाव रहेको भन्ने कुनै जानकारी आएको छैन। यो गभर्मेन्ट प्रोक्युरमेन्टको प्रक्रियामा अलि ढिलो भएको हो तर अब अहिले त लगभग भईसक्यो जस्तो लाग्छ।’

उनले खोप आवश्यक परेमा विभागले विशेष सिफारिसमार्फत उपलब्ध गराउने पनि जानकारी दिइन्।

खुला सीमाका कारण गुणस्तरहीन औषधिको जोखिम

भारतसँगको खुला सीमाका कारण नेपालमा दर्ता नभएका तथा गुणस्तरहीन औषधि र खोप नेपाल भित्रिने गरेको छ। निमित्त महानिर्देशक खड्गीले सीमावर्ती भन्सार बिन्दुमा विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको स्थायी उपस्थिति नहुँदा प्रभावकारी नियमन गर्न कठिन भइरहेको बताइन्।

उनका अनुसार विभागले नियमित अनुगमन तथा कारबाही गरिरहेको भएपनि जनशक्ति अभावका कारण आवश्यक स्तरको नियमन गर्न चुनौती रहेको छ।

उनले भनिन्, ‘ओपन बोर्डरका कारणले कतिपय खोप र औषधीहरु नक्कली आउने गरेको विभागको नोटिसमा छ। अहिले रिसेन्टली पनि एउटा सेरोफ्लो भन्ने नक्कली औषधि आइरहेको छ। खुला बोर्डरको कारणले भन्सार बिन्दुमै अब औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधी प्रयोगशालाको समस्थिती नहुँदाखेरि नियमनमा हामीलाई गाह्रो भएको छ।’

विभागले नयाँ औषधि दर्ताका लागि आवश्यक विदेशी औषधि उद्योग निरीक्षण (जीएमपी निरीक्षण) करिव तीन वर्षदेखि गर्न सकेको छैन। निमित्त महानिर्देशक खड्गीका अनुसार जीएमपी समितिबाट सिफारिस भएका फाइलहरू मन्त्रालयमा पठाइएपनि आवश्यक निर्णय हुन बाँकी रहेको छ।

यस वर्षदेखि नियमित वार्षिक कार्यक्रमअनुसार विदेशी उद्योग निरीक्षण पुनः सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिइन्। उनले नयाँ औषधि दर्तालाई विभागले प्राथमिकतामा राख्ने बताइन्।

अत्यावश्यक औषधिमा कम्तीमा ८० प्रतिशत आत्मनिर्भरता हासिल गर्ने लक्ष्य सरकारको रहेको उनले जानकारी दिइन्। स्वदेशी उद्योगलाई अत्यावश्यक औषधि उत्पादनतर्फ प्रोत्साहन गर्ने पनि उनको भनाइ छ। 


प्रकाशित : बुधबार, असार १७ २०८३१२:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend