काठमाडौं- कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ।
किसानलाई राहत हुनेगरी धानबालीका लागि थप आवश्यकपर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो।
सरकार-सरकार (जीटूजी) सम्झौताअन्तर्गत भारतबाट आयात हुनलागेको ३० हजार मेट्रिकटन युरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ।
ग्लोबल टेन्डरमार्फत विभिन्न मुलुकबाट एक लाख ८० हजार मेट्रिकटन रासायनिक मलमध्ये ६० हजार मेट्रिकटन डिएपी र एक लाख २० हजार मेट्रिकटन युरिया रहेको छ।
मन्त्रालयले मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तरराष्ट्रिय बजारमा मलको उपलब्धता घटे पनि किसानलाई राहत हुनेगरी मल आपूर्ति गर्न लागेको हो। यसवर्ष मन्त्रालयले हालसम्मकै बढी रासायनिक मल आयात गर्ने लक्ष्य लिएको छ।
मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता पाइएमा उजुरी गर्न बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म हटलाइन नम्बर ९७०००९९११३ तथा क्युआर कोडमार्फत गुनासो दर्ता गर्ने व्यवस्था गरेको छ।