काठमाडौं- अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री तथा बुकिङ सेवा प्रदान गर्दै आएको ओशो वर्ल्ड ट्राभल नेपालले गत आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब ९३ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ।
यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा २.८ प्रतिशत अर्थात् २७ करोड १० लाख रुपैयाँले बढी हो। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी ९ अर्ब ६६ करोड ७० लाख रुपैयाँ रहेको थियो।
कम्पनीको कारोबार पछिल्ला केही वर्षयता निरन्तर बढ्दो क्रममा देखिएको छ। कोभिड महामारीका कारण आर्थिक वर्ष २०७७/७८ मा कारोबार उल्लेख्य रूपमा घटे पनि त्यसपछि कम्पनीले निरन्तर सुधार गर्दै आएको देखिन्छ।
आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ७ अर्ब ८७ करोड रुपैयाँ, २०७८/७९ मा ५ अर्ब ११ करोड ४० लाख रुपैयाँ, २०७७/७८ मा १ अर्ब २२ करोड ६० लाख रुपैयाँ, २०७६/७७ मा २ अर्ब ९३ करोड २० लाख रुपैयाँ, २०७५/७६ मा ४ अर्ब २४ करोड ५० लाख रुपैयाँ र २०७४/७५ मा ३ अर्ब ६४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो।
सन् १९९१ नोभेम्बरमा स्थापना भएको ओशो वर्ल्ड ट्राभल नेपाल अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)बाट मान्यताप्राप्त नेपालका पुराना अन्तर्राष्ट्रिय हवाई टिकटिङ कम्पनीमध्ये एक हो।
कम्पनीले नेपाल एयरलाइन्स, थाई एयरवेज, गल्फ एयर, एतिहाद एयरवेज, कतार एयरवेज, ओमान एयर, एयर अरेबिया, एयर इन्डिया लगायतका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको टिकट बिक्री तथा बुकिङ सेवा उपलब्ध गराउँदै आएको छ।
काठमाडौंस्थित मुख्य कार्यालय रहेको कम्पनीमा प्रबन्ध निर्देशक श्यामराज थपलियाको ९० प्रतिशत र उनकी पत्नी राखी थपलियाको १० प्रतिशत सेयर स्वामित्व छ। तीन दशकभन्दा लामो सञ्चालन अनुभव र देशभर फैलिएको एजेन्सी सञ्जालका कारण कम्पनीले नेपाली हवाई टिकटिङ बजारमा आफ्नो उपस्थिति बलियो बनाएको जनाएको छ।
यद्यपि कारोबार बढे पनि कम्पनीको नाफा भने अपेक्षाअनुसार बढ्न सकेको छैन। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार गत आर्थिक वर्ष कम्पनीको सञ्चालन नाफा मार्जिन केवल ०.५ प्रतिशतमा सीमित रह्यो। हवाई टिकटिङ व्यवसायमा कम कमिसन, तीव्र प्रतिस्पर्धा तथा मूल्य प्रतिस्पर्धाका कारण ठूलो कारोबार भए पनि नाफा न्यून रहेको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीको कार्यशील पुँजी व्यवस्थापनमा पनि दबाब देखिएको छ। ग्राहकबाट रकम उठाउन औसत ३० दिन लाग्ने तर एयरलाइन्स तथा अन्य सेवा प्रदायकलाई औसत १५ दिनभित्रै भुक्तानी गर्नुपर्ने भएकाले नगद प्रवाहमा दबाब परेको कम्पनीले जनाएको छ। यही कारण कार्यशील पुँजी व्यवस्थापनका लागि बैंक ऋणमा निर्भर रहनुपरेको कम्पनीको भनाइ छ।
हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब २० करोड २५ लाख रुपैयाँ बराबरको ऋण सुविधा उपयोग गरिरहेको छ। यसमध्ये १३ करोड २५ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ७ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ। गत आर्थिक वर्ष कम्पनीको कुल ऋण तथा खुद सम्पत्ति अनुपात २.७ गुणा र कुल बाह्य दायित्व तथा खुद सम्पत्ति अनुपात ५.७ गुणा पुगेको छ। ऋणको भार उच्च रहेकाले ऋण भुक्तानी क्षमता अझै दबाबमा रहेको आईसीआरए नेपालको विश्लेषण छ।
यद्यपि ऋण सेवा क्षमतामा केही सुधार देखिएको छ। कम्पनीको डेब्ट सर्भिस कभरेज रेसियो (डीएससीआर) अघिल्लो वर्षको ०.९ गुणाबाट बढेर गत आर्थिक वर्ष १.१ गुणा पुगेको छ।
इक्रा नेपालले कम्पनीको दीर्घकालीन ऋण रेटिङ ‘एलबी प्लस’ र अल्पकालीन ऋण रेटिङ ‘ए माइनस ४’ पुनः पुष्टि गरेको छ। एजेन्सीका अनुसार कम्पनीको तीन दशकभन्दा लामो अनुभव, आईएटीए मान्यता, स्थापित बजार सञ्जाल तथा नेपालमा बढ्दो पर्यटन र अन्तर्राष्ट्रिय यात्रुको संख्या सकारात्मक पक्ष हुन्। तर न्यून नाफा, उच्च ऋण, कार्यशील पुँजीमा बैंक निर्भरता र प्राप्य रकम व्यवस्थापनका चुनौती कम्पनीका प्रमुख जोखिमका रूपमा रहेका छन्।
इक्रा नेपालले पर्यटन तथा हवाई यात्रा क्षेत्र मौसमी, आर्थिक मन्दी, भूराजनीतिक तनाव, महामारी तथा सरकारी नीतिगत परिवर्तनबाट प्रभावित हुने भएकाले यस्ता बाह्य जोखिमले कम्पनीको कारोबार र वित्तीय अवस्थालाई असर गर्न सक्ने जनाएको छ।