सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १५ २०८३
खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह

बैठकको शून्य सयममा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको माग सम्बोधन गर्न सदन मार्फत सरकारको ध्यानाकर्षण गराए।

काठमाडौं- राष्ट्रियसभाका सदस्यहरुले कृषिलाई प्राथमिकता दिइ खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम बनाउन सरकारसँग आग्रह गरेका छन्।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिँदै उनीहरुले कृषिलाई प्राथमिकता दिने गरी नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।

सरकारलाई गरिब, सीमान्तकृत र भूमिहीनको हकहितलाई ध्यानमा राखेर कार्यक्रम ल्याउन सांसद दुर्गा गुरुङको सुझाव छ।

सांसद नरबहादुर विष्टले विश्वविद्यालयका उपकुलपति नियुक्ति पारदर्शी हुनुपर्ने बताए।

सांसद सम्झना देवकोटाले धान र बीउमा आत्मनिर्भर रहने वातावरण बनाउन माग गरिन्।

सांसद मोहम्मद खालिदले होल्डिङ सेन्टरका विषयमा उठेको प्रश्नलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिए।

सांसद विष्णुकुमारी सापकोटाले कुनै पनि राजनीतिक दलले बालबालिकालाई दलको सदस्यता दिनु वा प्रयोग गर्नु उचित नहुने धारणा व्यक्त गरिन्।

यस्तै राष्ट्रियसभाको आजको बैठकको शून्य सयममा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको माग सम्बोधन गर्न सदन मार्फत सरकारको ध्यानाकर्षण गराए। 

सांसद चन्द्रबहादुर केसीले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद जगत तिमिल्सिनाले नेपालको संविधान, बालबालिकासम्बन्धी ऐनले १८ वर्षमुनिका व्यक्तिलाई पार्टी सदस्यता दिन निषेध गरेको बताए।

सांसद मीना सिंह रखालले राष्ट्रिय धान दिवस मनाइरहँदा पानी, मल, बीउका अभाव हुन दिन नहुनेतर्फ सरकार सचेत बन्नुपर्ने बताइन्।

सांसद रञ्जित कर्णले सप्तरी राजविराजमा लाजपुर्जाको माग गर्दै आन्दोलनरत किसानको माग सम्बोधन गर्न आग्रह गरे।

सांसद रेखाकुमारी झाले नेपाल खानेपानी संस्थान राजविराजमा राज्यकोषबाट सञ्चालिन सेतो नम्बर प्लेटको गाडीमा रातो प्लेट राखेर राज्यस्रोतको दोहन गरेकोप्रति सरकारको ध्यानाकर्षण गराइन्।

सांसद वासुदेव घिमिरेले हालैको दशजोड दुईको परीक्षामा केही त्रुटि देखिएकामा आपत्ति जनाए।

बैठकमा सांसद सम्झना देवकोटाले गोरखा जिल्लाको हिमाली क्षेत्रमा दुई नाका भए पनि दुवै नाका बन्द भएकाले जनजीवन कठिनाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पर्यटकीय पदमार्गका लागि मात्रै भए पनि नाका खोलाउन माग गरिन्।

सांसद सोमनाथ पोर्तेलले सुपारीको निर्यातमा रोकिएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सुपारीको ‘डिएनए’ परीक्षण गर्ने निर्णय तत्काल फिर्ता लिएर किसानलाई सहयोग गर्न आग्रह गरे। 


प्रकाशित : सोमबार, असार १५ २०८३१४:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend