काठमाडौं- जर्मनीको प्रतिष्ठित अटोमोबाइल निर्माता कम्पनी फक्सवागनले आफ्नो ८९ वर्ष लामो इतिहासकै सबैभन्दा ठूलो पुनर्संरचनाको घोषणा गरेको छ। फक्सवागनले अबको एक वर्षभित्र करिब १ लाख कर्मचारी कटौती गर्ने योजना अघि सारेको हो।
कम्पनीका मुख्य कार्यकारी अधिकृत (सीईओ) ओलिभर ब्लुमले विश्वव्यापी बजारमा देखिएको तीव्र प्रतिस्पर्धा, कमजोर वित्तीय अवस्था र विद्युतीय गाडी (ईभी) बजारमा आएको मन्दीलाई सुधार्न यो कठोर कदम चाल्न लागिएको बताएका छन्। हालै भएको कम्पनीको बैठकमा सीईओ ब्लुमले ठूलो संख्यामा रोजगारी कटौतीसहितको नयाँ कार्ययोजना पेस गरेका थिए।
जर्मनीको प्रमुख आर्थिक म्यागजिन 'म्यानेजर म्यागजिन' र अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार यो योजना पूर्ण रूपमा लागु भएमा फक्सवागनको ६ लाख ५७ हजार भन्दा बढीको कुल जनशक्तिमध्ये करिब १५ प्रतिशत अर्थात करिब १ लाख कर्मचारी प्रत्यक्ष रूपमा प्रभावित हुनेछन्।
यसअघि फक्सवागनका सीईओ ब्लुमले एक वर्षमा ५० हजार रोजगारी कटौती गर्ने बताएकोमा अहिले त्यसलाई बढाएर १ लाख रोजगारी कटौती गर्ने प्रस्ताव पेस गरेका हुन्।
बजारमा प्रतिस्पर्धी बन्न सीईओ ब्लुमले कम्पनीको आगामी ५ वर्षको अनुसन्धान र विकास (आरएन्डडी) बजेटमा समेत १५ प्रतिशतले कटौती गरी १३० अर्ब युरोमा सीमित गर्ने प्रस्ताव गरेका छन्। साथै मुख्य 'फक्सवागन प्यासेन्जर कार' ब्रान्डलाई माउ कम्पनीबाट अलग गरेर स्वतन्त्र निकाय बनाउने विषयमा समेत छलफल चलिरहेको समाचारमा उल्लेख छ।
चार ठूला प्लान्ट बन्द हुने जोखिम
नयाँ संकटकालीन योजनाअनुसार फक्सवागनले कर्मचारी कटौतीमात्र नगरी जर्मनीमा रहेका आफ्ना चारवटा प्रमुख उत्पादन प्लान्टहरूसमेत पूर्ण रूपमा बन्द गर्ने तयारी गरेको छ। कम्पनीले ह्यानोभर, एम्डेन, नेकारसुल्म (अउडीको प्लान्ट) र कम्पनीको प्रमुख इलेक्ट्रिक गाडी उत्पादन केन्द्रको रूपमा रहेको ज्विकाउ प्लान्ट बन्द गर्ने सूचीमा राखेको छ।
यी प्लान्टहरु बन्द हुँदा त्यहाँ कार्यरत ४५ हजारभन्दा बढी कामदारको रोजगारी गुम्ने खतरा बढेको छ। यसअघि कम्पनीले सन् २०३० सम्ममा ५० हजार रोजगारी कटौती गर्ने बताएको भए पनि वर्तमान संकटका कारण उक्त संख्यालाई दोब्बर बनाउँदै १ लाख पुर्याइएको हो।
फक्सवागन संकटमा पर्नुको मुख्य कारण चीनका सस्तो र आधुनिक प्रविधियुक्त इलेक्ट्रिक गाडी कम्पनीहरूको तीव्र बजार विस्तार मानिएको छ। कुनै समय चीनको अटो बजारमा शीर्ष स्थानमा रहेको फक्सवागनलाई चिनियाँ ईभी उत्पादक कम्पनीले कडा टक्कर दिँदै उछिनेको छ।
बजार विश्लेषक संस्था अलिक्सपार्टनर्सको तथ्यांकअनुसार चीनको अटो बजारमा विदेशी ब्रान्डहरूको हिस्सा सन् २०२० मा ५७ प्रतिशत रहेकोमा हाल घटेर करिब ३२ प्रतिशतमा सीमित भएको छ। चिनियाँ ब्रान्डहरूले युरोपेली बजारमै छिरेर आक्रामक रूपमा गाडी बिक्री गर्न थालेपछि फक्सवागनलाई युरोपेली मैदानमै टिक्न सकस भएको हो।
यसका साथै अन्तर्राष्ट्रिय व्यापारिक तनाव र नयाँ भन्सार शुल्कका कारण पनि कम्पनीको नाफामा ठूलो गिरावट आएको छ। हालै सार्वजनिक भएको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार फक्सवागनको सञ्चालन नाफा १४.३ प्रतिशतले घटेर २.४६ अर्ब युरोमा खुम्चिएको छ।
यसैबीच कम्पनीको यस घोषणाले जर्मनीको राजनीति र श्रम बजारमा ठूलो तरंग पैदा गरेको छ। जर्मनीको शक्तिशाली लेबर युनियन 'आईजी मेटल' र फक्सवागनको वर्क्स काउन्सिलकी प्रमुख डानिएला काभालोले व्यवस्थापनको अदूरदर्शिताका कारण मजदुरहरूले सजाय पाउन नहुने भन्दै यो योजनाविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। फक्सवागनको दोस्रो ठूलो सेयरधनी रहेको जर्मनीको 'लोअर स्याक्सनी' राज्य सरकारले पनि प्लान्ट बन्द गर्ने कुरामा असहमति जनाएको छ।
कम्पनीका प्रवक्ताले यसलाई आन्तरिक गोप्य दस्ताबेज भन्दै विस्तृत टिप्पणी गर्न अस्वीकार गरेका छन्। यसकाबीच पुरानो व्यावसायिक मोडेलले अब काम नगर्ने र सम्पूर्ण ग्रुपमा गम्भीर परिवर्तन आवश्यक भएको स्वीकार गरेका छन्। यो योजनाबारे आगामी जुलाई ९ मा बस्ने फक्सवागनको सुपरभाइजरी बोर्डको बैठकमा निर्णायक छलफल हुने तय भएको छ।
फक्सवागनको यो नयाँ प्रस्तावले विश्वका ठूला परम्परागत अटोमोबाइल कम्पनीहरु स्कटोन्मुख रहेको संकेत गरेको छ। चिनियाँ कम्पनीहरु चेरी एसएआईसीलगायतले न्यु इनर्जी सवारी उत्पादन र निक्कै कम मूल्यमा उच्च प्रविधियुक्त सवारी बजारमा ल्याएकाले ठूला परम्परागत कम्पनीहरुलाई अप्ठेरो अवस्थामा पुर्याएको हो।